काठमाण्डौ,माघ १७: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढङ्गले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आज मङ्गलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री कार्कीले फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्ट्स, कस्मेस्युटिकल प्रोडक्ट्सहरू बजारमा आउनुभन्दाअघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो । उहाँले बजारमा अहिले औषधिहरू जथाभाबी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताउनुभयो ।
राज्यमन्त्री कार्कीले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै’कम्प्रमाइज’ गर्न नहुने बताउनुभयो । उहाँले देशभित्रै औषधि उत्पादन हुने प्रबल सम्भावना रहेकाले त्यससम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गर्नुभयो ।

