टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ७ सय नाघेकोछ । ३४ हजार भन्दा बढी घाइते भएका छन् । टर्कीमा मात्रै ६ हजार २ सय ३४ भन्दा बढीको मृत्यु भएको छ भने सिरियामा करिब २ हजार ५ सय जनाको मृत्यु भएको छ । झन्डै दुई करोड ३० लाख मानिस प्रत्यक्ष प्रभावित भएका छन् ।
तीमध्ये १० लाख बालबालिका रहेको विश्व स्वास्थ्य संगठन डब्ल्यू-एच-ओको तथ्यांक छ। यूरोपेली संघ, अमेरिका, जापान, दक्षिण कोरियालगायत विभिन्न देशका उद्धारकर्मीहरु दुवै मुलुकका ढलेका हजारौँ भवनका भग्नावशेषमा फसेका मानिसलाई निकाल्ने प्रयासमा जुटिरहेका छन् ।
टर्कीका राष्ट्रपति रिसेप तय्यप एर्दोआनले भूकम्पबाट अतिप्रभावित दक्षिण–पूर्वी क्षेत्रमा तीन महिने संकटकाल घोषणा गरेका छन् । एर्दोआनले मुलुकका १० वटा प्रमुख सहर भूकम्पबाट अति प्रभावित क्षेत्रमा परेको जानकारी दिए । विश्वका ७० वटा मुलुकबाट आफ्नो सरकारलाई सहयोगको प्रस्ताव आएको बताउँदै राष्ट्रपति एर्दोआनले भूकम्पका कारण घरवारविहीन भएकालाई अन्ताल्या सहरका विभिन्न होटेलमा आपतकालीन आश्रयको व्यवस्था गर्ने योजना सार्वजनिक गरेका छन् ।
सोमबार बिहान गाजियान्टेप नजिक सात दशमलव आठ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि, स्थानीय समयअनुसार अपराह्न करिब साढे एक बजे अर्को सात दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो ।




