नेपालसँगको कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसरमा भारतले २ सय थान मिर्गौला डायलाइसिस गर्ने मेसिन हस्तान्तरण गरेको छ । भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।
मन्त्री गिरीले भारतको यो सहयोगबाट डायलाइसिसको समस्या कम गर्न सघाउ पुग्ने बताए । ‘हामीले आवश्यक ठाउँमा यी मेसिन पुर्याउन सके डायलाइसिसका लागि समय पर्खिनुपर्ने समस्या हट्नेछ,’ उनले भने ।
भूकम्प र कोडिभ महामारीका बेला भारत सरकारले गरेको सहयोग उल्लेखनीय रहेको गिरीको भनाइ छ । ‘नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ,’ उनले भने ।
नेपाल र भारतबीच सरकार–सरकारमा मात्र नभई जनतामाझ पनि घनिष्ठ सम्बन्ध रहेको गिरीको भनाइ छ । ‘भारतले पनि छिमेकीलाई प्राथमिकता दिने नीति लिएको छ । यो हाम्रो लागि खुसीको कुरा हो,’ उनले भने ।
दूतावासले दुई सय थान मेसिनमध्ये कार्यक्रममा २० वटा उपलब्ध गराएको छ भने बाँकी उपकरण छिट्टै नेपाललाई हस्तान्तरण गर्ने जानकारी गराएको छ ।



