भरतपुर । भ्रष्टाचार विरुद्ध अग्रणी मोर्चामा उभिएको मानव अधिकार एलाइन्स चितवन शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष नारायणप्रसाद दवाडीको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।
नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाइ तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू,पूर्व मन्त्रीहरू लगायत संलग्न भएको भन्ने समाचार प्रति मानव अधिकार एलाइन्स जिल्ला शाखा चितवनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, केही मन्त्रीहरू र उनका नातागोताका व्यक्तिहरू समेत संलग्न भइ गलत ढंगले नागिरकहरूलाइ अन्य मूलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरूपयोग भएको जानकारी गराईएको छ ।
नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासन प्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय भएको ज्ञापनपत्रमा उल्लेख छ ।यस्ता अपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषी माथी कडा कारवाहीको माग गरिएको छ ।
आम जनसमुदायमा राज्य व्यवस्था, राज्यका अंग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तथा राजनीतिक दलहरू प्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरूको निष्पक्ष र पारदर्शी ढंगले छानवीन गर्न, दोषीलाइ कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्ममान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकार समक्ष मानव अधिकार एलाइन्स जिल्ला शाखा, चितवन जोडदार माग गरेको छ ।
अनुसन्धान प्रकृयालाइ सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न, सुशासनको प्रत्याभूति कायम गराउन र मानव अधिकारको प्रत्याभूति गराउन सम्पूर्ण सरोकारवालाहरू समक्ष जोडदार माग गरिएको छ । टोलीमा उपाध्यक्ष मिरा सापकोटा सचिव रामशरण गैरे कोषाध्यक्ष रामकुमार श्रेष्ठ र सदस्यहरू धिरेन्द्रप्रसाद पाण्डे, किशोर खनाल, टुकमान गुरूङ,पार्वती घिमिरे दवाडी र धनवाहादुर विक लगायतको उपस्थिति थियो।