चितवन, असार ५ :सरकारले आयातित प्याजमा १३ प्रतिशत भ्याट लगाउन थालेपछि व्यवसायीले प्याजको मूल्य अचाक्ली बढाएका छन् । चितवनमा पछिल्लो एक महिनामा प्याजको होलसेल मूल्य किलोमै १८ रुपैयाँले बढेको छ ।
एक महिनाअघि प्रति किलो ३५ रुपैयाँमा विक्री भएको प्याज अहिले प्रति किलो ४८ रुपैयाँमा विक्री भएको छ । कुनै व्यवसायीले प्रति किलो ४९ रुपैयाँ लिएको पनि पाइएको छ । त्यस्तै, एक महिना अगाडि खुद्रामा प्रति किलो ४५ रुपैयाँमा विक्री भएको प्याजको मूल्य अहिले ६५ रुपैयाँसम्म पु¥याइएको छ ।
केहि दिन अघि प्याजको अभाव हुन लागेको भन्दै व्यवसायीले एक किलो प्याजको मूल्य ८० रुपैयाँसम्म लिएका थिए । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्याजमा भ्याट लगाएपछि व्यवसायी आन्दोलित भएका थिए ।
सरकारले प्याजमा १३ प्रतिशत भ्याट लगाएपछि प्याजको मूल्य बढेको किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलले बताए । ‘प्याजमा १३ प्रतिशत भ्याट लगाइएको छ । भन्सार मूल्यांकन गर्दा सरकारले राखेको मूल्यांकनको दर केहि बढि भएकाले व्यवसायीले कर धेरै तिर्नुपर्छ’, उनी भन्छन्, ‘भ्याट लगाएपछि सोहि अनुपातमा मूल्य बढेको छ । हाम्रा व्यवसायीले खुद्रामा प्रति किलो ६० रुपैयाँमा प्याज विक्री गर्नुभएको छ ।’

