भरतपुर मङ्सिर ५ : तीन निर्वाचन क्षेत्र रहेको चितवन जिल्लाका सबै क्षेत्रमा साेमबार बिहानबाट मत गणनाको तयारी गरिएको छ।
आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिदै छ।
क्षेत्र नम्बर १ र २ ले बिहान ८ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्। क्षेत्र नम्बर ३ ले बिहान ९ वजे सर्बदलिय बैठक बोलाएको छ। बैठकपछि लगत्तै गणनाको तयारी गरिएको छ।
जिल्लाको क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ। सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन्।
क्षेत्र नम्बर ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए। यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन्।
जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन्। उनीहरूमध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन्। १ सय ६१ मतदान स्थलमा ४ सय ६० मतदान केन्द्र रहेका थिए।

