चितवन, असोज १५: चितवनको शिशु फर्टिलिटी क्लिनिकले निःसन्तान दम्पतीलाई दशैंको अवसरमा निःशुल्क डाक्टरको परामर्श दिने भएको छ । दशैं पर्वको अवसर र पुरानो मेडिकल कलेज अगाडिबाट सेवा प्रदान गरिरहेको अवसर पारेर क्लिनिकले निःशुल्क परामर्श दिन लागेको हो । निःशुल्क परामर्श सेवा असोज २४ गतेदेखि २७ गतेसम्म प्रदान हुनेछ ।
क्लिनिकले महिला प्रजनन् सम्बन्धि ओपीडीसहितका सबै सेवा दिँदै आएको छ । निःसन्तापनको समस्या भएका दम्पतीलाई उपचारसँगै ओपीडी परामर्श सेवा पनि दिन थालिएको क्लिनिकले जनाएको छ । निःसन्तानपनको समस्याले वर्षौँदेखि बच्चा जन्मिने आश मारेर बसेका दम्पतिको सपना शिशु फर्टिलिटी क्लिनिकले सफल बनाउँदै आएको छ । प्रजनन् रोग विशेषज्ञ डा सुमी मुनंकर्मी, डा सुजन भुसाल र डा दिव्या पौडेलले क्लिनिकबाट सेवा दिँदै आएका छन् ।
त्यस्तै, बच्चाका बुबाआमाले बच्चा जहाँ जन्मिएको हो त्यहि उपचार गराउन चाहने भएकाले क्लिनिकबाट बालरोग विशेषज्ञ डा योगराज शर्माले सेवा दिन थालेको क्लिनिककी सिईओ सविना बजगाईले बताइन् । प्रजनन् रोग विशेषज्ञ डा मुनंकर्मी भने काठमाडौँबाट हरेक महिनाको पहिलो र तेस्रो शनिबार चितवन आउने उनले जानकारी दिइन् ।
शिशु फर्टिलिटी क्लिनिकले निःसन्तापन सम्बन्धि समस्याको ओपीडी सेवा सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको छ । आफ्नो काममा व्यस्त हुने दम्पत्तीले विशेषज्ञ चिकित्सकको सल्लाह लिन समय जुटाउनै मुश्किल पर्छ’, बजगाई भन्छिन्, ‘दम्पतीले आफ्नो अनुकुल समयमा गुणस्तरीय उपचार तथा परामर्श सेवा लिन पाउन् भन्ने उद्धेश्यले क्लिनिकले ओपीडीसहितको सबै सेवा सुरु गरेको हो ।’
निसन्तापनको समस्या देखिए मेडिकल र आईयुआई पद्धतिबाट उपचार गर्न सकिन्छ । कतिपय दम्पतिको समस्या औषधी सेवन गरेपछि हल पनि हुने गर्छ । महिनावारी गडबडी, हर्मोन परिवर्तन, थाइराइड र शारिरीक परिवतर्नका कारण बच्चा जन्माउन नसकेको अवस्थामा औषधी खाएरै पनि गर्भधारण गर्न सकिने उनको भनाइ छ ।
पुरुषको वीर्यमा शुक्रकिटको संख्या कम भएको अवस्थामा महिलाको पाठेघरमा डिम्बसँग मिलन हुने सम्भावना कम हुन्छ । त्यस्तो अवस्थामा पुरुषको वीर्य निकालेर कृत्रिम तरिकाले महिलाको पाठेघरमा राखिन्छ । ‘वीर्यलाई केमिकल्लि प्रोसेस गरेर उत्कृष्ट किसिमले महिलाको पाठेघरमा राख्ने प्रक्रियालाई आईयुआई भनिन्छ । त्यसो गर्दा पनि भएन भने अन्तिम उपाय भनेका आईभीएफ प्रक्रिया हो’, उनले भनिन् ।