धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर १ हजार ९ सय ९२ दशमलव३० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयरमूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । विभिन्न कम्पनीका कुल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिदबिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड ७१ लाख ८० हजार २ सय २९ मूल्यबराबरको शेयर कारोबार भयो ।
हिमालयन रिइन्स्योरेन्स ७ करोड ७५ लाख ३ हजार ८ सय २२, शिवम् मिसेन्ट ६ करोड ६७ लाख ६७ हजार ५ सय २८, गुर्खाज फाइनान्स ६ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स ६ करोड १८ लाख ७ हजार ९ सय १८ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त ८ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी ७ दशमलव ६५, सोनापुर मिनरल्स ७ दशमलव ३५ र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले ६ दशमलव ७२ प्रतिशतले कमाएका छन् ।
यस्तै, समाज लघुवित्त १०, बीपीडब्ल्यू ८ दशमलव ७७, किसान लघुवित्त ५ दशमलव ५६, गुर्खाज फाइनान्स ५ दशमलव ३५ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतले गुमाएका छन् ।