मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिनदेखि चितवन–३ मा सबैभन्दा धेरै चर्चामा आएका उम्मेदवार डा भोजराज अधिकारी हुन् । प्रचण्डले छाडेको निर्वाचन क्षेत्रमा भरतपुर अस्पतालको अध्यक्ष पद त्यागेर उनी गठबन्धनको तर्फबाट उम्मेदवार बने । चितवनकै माटोमा जन्मिएर, पढाइमा सधै अब्बल बनेर बरिष्ठ फिजिसिएनको नाममा समाजमा इज्जत र शान बनाएका अधिकारीको उम्मेदवारीलाई सबैले चासोका साथ हेर्न थाले । कांग्रेसको गढ मानिएको चितवन–३ मा भोजराजले जित्नेमा धेरै आशावादी थिए । डाक्टरको धाराप्रवाह भाषण, बिरामी जाँच्दै र बिरामीहरुसँग सम्वाद गर्दे हिड्ने शैली पक्कै पनि निर्वाचनमा नौलो नै थियो । तर, समयक्रमसँगै कांग्रेसभित्र देखिएको असन्तुष्टि, दलप्रतिको निराशा र गुटगत विवादका कारणले पर्याप्त मत पाउन नसक्दा पढाइ र चिकित्सा पेसामा सधै अब्बल बनेका डा अधिकारी निर्वाचनमा भने असफल बन्न पुगेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष बिक्रम पाण्डेले अधिकारीलाई नौ हजार २३३ मतान्तरले पराजित गरे । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरेका थिए । यो असफलतासँगै डा अधिकारीलाई राजनीतिक यात्राको पहिलो परीक्षामा नै ढेस लागेको छ ।
पढाइ र चिकित्सामा निरन्तरको सफलता
चितवनको दुर्गम गाउँ तत्कालिन कुरिनटार गाउँ विकास समिति कमेरेको एउटा विपन्न परिवारमा जन्मिएका अधिकारी चिकित्सक जस्तो विशिष्टिकृत सेवा क्षेत्र हुँदै राजनीतिक आन्दोलनमा प्रवेश गरेका हुन् । बिगत १७ वर्र्षदेखि चिकित्साक्षेत्र मार्फत जनताको सेवामा रहेका उनको प्राथमिक शिक्षा पटिहानीकै राष्ट्रिय प्राथमिक विद्यालयबाट सुरु भयो । पाँच कक्षासम्म मात्र रहेको उक्त विद्यालय पछि पटिहानीकै अमर माविबाट डा अधिकारीले २०५२ सालमा विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गरे । पढाइमा अब्बल अधिकारी कहिल्यै दोस्रो हुनु परेन । उनी विद्यालयकै सबै भन्दा धेरै नम्बर ल्याउने विद्यार्थी अर्थात होल फष्ट थिए । कक्षा ५ र ८ को परीक्षामा उनी चितवन जिल्ला प्रथम नै भएका थिए । अमृत साइन्स क्याम्पस(अस्कल)बाट २०५४ सालमा प्रथम श्रेणीमा आइएससी गरेका डा अधिकारीले शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्ति कोटामा पोखरास्थित मणिपाल मेडिकल कलेज, शिक्षण अस्पताल बाट चिकित्सा विज्ञानमा स्नातक (एमबीबीएस.) उर्तीण गरे ।
पोखराको पढाइपछि उनले चिकित्सा क्षेत्रको पहिलो काम चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल(पुरानो मेडिकल कलेज)बाट सुरु गरे । २०६२ सालमा इन्टर्नसीप चिकित्सककोरुपमा अस्पतालमा काम गर्दा उनमा रहेको क्षमताको कारण सोही मेडिकल कलेजबाट निःशुल्क काठमाण्डौं विश्वविद्यालयको इन्टरनल मेडिसिन(फिजिसियन)मा एमडी गरे । एमडी अध्ययन गर्दागर्दे उनले लोकसेवा मार्फत सरकारी चिकित्सकको रुपमा नाम निकालेर अहिलेको कालिका नगरपालिकाको जुटपानी स्वास्थ्य चौकीमा सरकारी चिकित्सक बने । त्यो उहाँको सरकारी सेवाको पहिलो प्रारम्भ थियो ।
मेडिकल कलेजको व्यस्तता र केही नयाँ सिकौ भन्ने मान्यता राख्ने डा अधिकारीको सरकारी क्षेत्रबाट केही गरौं भन्ने भावना पूरा हुन नसक्ने देखेर त्यो जागीरमा त्यति रमाउन सकेनन् । त्यसपछि उनकोे विशिष्टिकृत सेवा पुरानो मेडिकल कलेजबाट सुरु भयो ।
एमडी अध्ययन गर्देगर्दा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा उनकै नेतृत्वमा नेपालमै निजी क्षेत्रबाट पहिलो पल्ट मृगौलाको डायलायसिस सेवा सुरु भएको थियो । त्यो सेवा सर्वसाधारण नागरिकको पहुँचमा पु¥याउने उनको ध्येय थियो । काम त्यहाँ गरिरहँदा पनि कसरी त्यो सेवा सरकारी अस्पतालमा दिन सकिन्छ भन्ने उनीमा हुटहुटी भइरहन्थ्यो ।
डा अधिकारीमा जागृत गरिब र निमुखा बिरामीको सेवामा समर्पण गर्ने चाहनाले अस्पताल विकास समितिकै माध्यमबाट भरतपुर अस्पतालमा प्रवेश गरे । २०६७ साल देखिको निरन्तरता र सोही अस्पतालको अध्यक्ष जस्तो गरिमामय नियुक्ति पछि उनले चितवनको स्वास्थ्य क्षेत्रमा धेरै र उल्लेख्य काम गर्ने अवसर प्राप्त गरे । चुनावसम्म ३० महिना भरतपुर अस्पतालको अध्यक्ष समेत बने । भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्छ भन्ने मान्यता राख्ने डा अधिकारी राजनीति तर्फ पाइला अगाडि सारेसँगै उनलाई कतिपयले भावी स्वास्थ्य मन्त्रीको रुपमा समेत हेर्न थालेका थिए । निर्वाचनमा पराजित भएसँगै उनको स्वास्थ्यमन्त्री बन्ने सपनामा ब्रेक लागेको छ । नेकपा (माओवादी केन्द्र) निकट स्वास्थ्य तथा जनसंख्या विभागको केन्द्रीय सचिव रहेका अधिकारी निर्वाचन जितेको भए गठबन्धन सरकार बन्ने अवस्थामा स्वास्थ्यमन्त्री बन्ने सम्भावना प्रवल थियो ।
चुनावी असफलताको अन्तरकथा
डा अधिकारीलाई पटिहानीको अमर उच्च माविमा कक्षा ६ देखि १० सम्म पढाएका शिक्षक लिलाधर पौडेल सधै सफल भएको आफ्नो विद्यार्थी निर्वाचनमा असफल हुँदा चिन्तित बने । उनले भने, ‘ देशको स्वास्थ्यमन्त्री बन्ने सम्भावना बोकेको अधिकारी राजनीतिक अन्तरघातको शिकार बन्यो । क्षणिक गुलियोमा मतदाता भुलेर उनले सोचेजति मत पाउन सकेनन् । निर्वाचनको अघिल्लो दिनसम्म जे अनुमान गरिएको थियो तर मतदान केन्द्रमा पुग्दा उनले हार्छन् भन्ने थाहा भयो ।’ उनले सानैदेखि बामपन्थी राजनीतिमा झुकाव राख्ने डा अधिकारी न्यून आर्थिक अवस्थाको कारणले विद्यालयदेखि नै छात्रवृत्तिमा पढेको स्मरण गरे । पौडेलले भने, ‘ पढाइ र चिकित्सामा अब्बल बने पनि उनी निर्वाचनमा सफल बन्न सकेनन् ।’
डा अधिकारी पराजयको बारेमा चितवनमा विभिन्न चर्चा, परिचर्चाहरु चलिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष हार्ने अवस्था बुझेर छाडेको क्षेत्रमा उनले जोखिम मोलेको कतिपय विश्लेषकको भनाइ छ । भरतपुर पटिहानीका स्थानीय तथा काठमाडौँ विश्वविद्यालयबाट पीएचडी गर्दै गरेका राजनीतिक विश्लेषक बसन्त लामिछानेले डा अधिकारीले चितवनको राजनीतिक अभयब बुझ्न नसक्दा पराजित भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ उहाँ जित्नुपर्ने उम्मेदवार हो तर पार्टी अध्यक्ष प्रचण्डले हार्ने भनेर हिडिसकेपछि डा अधिकारीले जोखिम मोल्नु भयो । प्राविधिक क्षेत्रमा अब्बल मानिस हतार गरेर राजनीतिमा आउनुभयो ।’ विश्लेषक लामिछानेले राजनीतिप्रतिको बढ्दो वितृष्णाको मारमा डा अधिकारी परेको विचार राखे । उनले भने, ‘ गठबन्धनका दलहरुको पाँचतिर फर्किएको चुनावी घोषणापत्र, कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गर्ने माओवादीको पेण्डुलम चरित्रको मारमा डा अधिकारी पर्नुभयो । गठबन्धनलाई चितवन–३ का मतदाताले मननपराएका कारणले डा भोजराज अधिकारी एक सफल र बौद्धिक व्यक्तित्व हुँदाहुँदै पनि निर्वाचनमा असफल बन्नुभयो ।’ उनले डा अधिकारीको पराजयको पछाडि प्रचण्डको अस्थिर राजनीति, निम्न पूँजीवादी चिन्तन र महानगरमा फस्टाएको भ्रष्टचार तथा कमिसनको खेल पनि जिम्मेवार रहेको दाबी गरे । पराजयपछि डा अधिकारीको भावी राजनीतिक यात्रा कता मोडिन्छ त्यो भने हेर्न नै बाँकी छ ।
- मधुसूदन दवाडी