चितवन १० मङ्सिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक निर्वाचन प्रणालीतर्फ केही पार्टीले पाएको मत अस्वभाविक भएको टिप्पणी गरेका छन्।
शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्। गठबन्धनको एउटा पार्टीलाई आएको मत तीन प्रतिशत थ्रेसहोल्ड नकट्ने दलमा जोडिन सक्ने उनको आरोप छ।
उनले लेखेका छन्, ‘समानुपातिक मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ।’
उनले नेता कार्यकर्तालाई मतगणनामा चनाखो हुन पनि निर्देशन दिएका छन्। ‘जिल्ला जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस्। मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु,’ ओलीले भनेका छन्।

