सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ। पुस १ गतेदेखि लागू हुने गरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
मुख्यसचिवको संयोजकत्वमा गठित अध्ययन समितिले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो। त्यसैअनुसार मन्त्रिपरिषद् बैठकले आयात खुलाउने निर्णय गरेको हो।
विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका वस्तुको प्रतिबन्ध कायम राखिएको थियो। सबै प्रकारका निजी चारपांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलर भन्दा बढी मूल्यका मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएको थियो। मंसिर मसान्तपछि यी वस्तुको आयात पनि खुला भएको छ।