चितवन । चितवनको नारायणगढस्थित क्याम्पा चौरमा भोलि (आइतबार) हुने ‘नेपथ्य लाइभ कन्सर्ट’का लागि मुख्य गायक अमृत गुरुङसहितको नेपथ्य समूह चितवन आइपुगेको छ । मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कन्सर्टका संयोजक ओमकार कँडेललगायत आश्रमका अभिभावकहरुले नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङसहितको समूहलाई पुष्पगुञ्छा तथा खादा लगाएर स्वागत गरेका हुन् ।
नेपथ्य टिमलाई स्वागत गर्न आश्रमका अभिभावक तथा समाजसेवी बालगोपाल चुके, गुणराज दाहाल, पुष्प धिताललगायतको सहभागिता थियो । हेटौँडाको कार्यक्रम सकेर नेपथ्यको टोली शुक्रबार चितवन आइपुगेको थियो । नेपथ्यले कन्सर्टका लागि चाहिने उच्चस्तरका प्रविधि सबै काठमाडौँबाट ल्याएको छ । पाँच वटा ट्रकले ति सामान ओसारपसार गरिरहेको छ । शुक्रबार बाटै नेपथ्यले क्याम्पाचौरमा स्टेज निर्माणको काम समेत थालिसकेको छ ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आश्रमले जनाएको छ । “आन्तरिक तयारी करिबकरिब पुरा भएको र फिल्ड र स्टेजको काम जारी रहेको छ”, कार्यक्रम संयोजक कँडेलले बताए । उनले टिकटसमेत सकिन लागेको जानकारी दिए । संयोजक कँडेलले आज दिउँसो २ बजे नारायणगढस्थित आश्रम कार्यालयमा अमृतगुरुङसँग चियापान तथा भेटघाट कार्यक्रम रहेकाले सहभागिताका लागि चितवनबासीमा अनुरोध पनि गरेका छन् ।
मानवता प्रवद्र्धनका साथै यहाँ रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषणको सहयोगार्थ यही २५ गते हुने ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन लोक रपप गीतहरु प्रस्तुत गर्नेछन् ।
मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको योे कार्यक्रम चौथो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा र २२ गते हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेको छ । तीन वटै कार्यक्रममा पाँच हजार बढी मासिको सहभागिता रहेको थियो । चितवनमा भने ६ हजार दर्शक उपस्थित गराउने लक्ष्य रहेको छ ।
मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइन्बाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु एक हजार रहेको छ ।