नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले जनताको विश्वासलाई गुम्न नदिनका लागि आफूलाई मतदान गर्न आग्रह गरेका छन्।
बुधबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबामा पार्टी संसदीय दलको नेताका लागि मतदान गर्न पुगेका महामन्त्री थापाले जनतासमक्ष गरेको पुस्तान्तरणरूपी विश्वासलाई खण्डित नगर्न दलका सांसदहरूसँग आग्रह गरेका हुन्।
उनले जनताबाट निर्वाचित भएका सांसदहरूले मतदान गर्नुपूर्व जनताको विश्वासको नासोप्रति जवाफदेही र इमान्दारी देखाउन आग्रह गरे।
महामन्त्री समेत रहेका थापाले भने, ‘जनताबाट निर्वाचित भएर आउनुभएका प्रत्येक सांसदले मतदान गर्नुभन्दा पहिला जनताको जुन विश्वासको नासो लिएर आउनुभएको छ, त्योप्रति आफ्नो जवाफदेहिता, इमान्दारिता देखाउनु हुनेछ। नेपाली कांग्रेसले देशप्रति गर्नुपर्ने जिम्मेवारी हृदयमा राखेर शान्त चित्तले, कुनै आग्रह, पूर्वाग्रहमा नपरीकन विवकेले मत प्रयोग गर्नुहुनेछ। आत्मविश्वास प्रचुर छ। आत्मविश्वासले नै उम्मेदवार बनाएको हो। साथीहरू एक ठाउँमा उभिनुभएको छ, मेरो लागि सबैभन्दा ठूलो कुरा त्यही नै हो।’
उनले कांग्रेस समानुपातिक सांसद आरजु राणा देउवाले प्रधानमन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार तथा पार्टी सभापति शेरबहादुर देउवाको जित सुनिश्चित रहेको छ भन्दै हुनुहुन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा संसदीय दलको नेतामा आफ्नो प्रतिष्पर्धी शेरबहादुर देउवा भएको बताए।
कांग्रेस संसदीय दलको नेताका लागि आज ८ बजेबाट मतदान हुने भनिएपनि करिव ४५ मिनेट ढिलो गरेर मतदान शुरु भएको छ।
मतदान १० बजेसम्म जारी रहनेछ। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टीका नवनिर्वाचित ८९ जना सांसदले मतदान गर्नेछन्।