स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो ।
मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिन्छ ।
हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको छ । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समिर कुमार अधिकारीले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख गरे अनुसार उक्त नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको छ। सबै उमेर समूहकालाई पनि प्रभाव पार्न सक्ने भएकाले सुरक्षित रहन र जनस्वास्थ्य मापदण्डहरु पालना गर्न/गराउन मन्त्रालयले अनुरोध गरेको छ।

