लेबर पार्टीका क्रिस हिपकिन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जेसिन्डा अर्डर्नको ठाउँ लिने पक्का भएको बीबीसीले लेखेको छ ।
उनी पहिलोपल्ट सन् २००८ मा सांसद चुनिएका थिए । नोभेम्बर २०२० मा उनलाई कोभिड-१९ विशेष मन्त्री बनाइएको थियो । हिपकिन्स अहिले प्रहरी, शिक्षा तथा सार्वजनिक सेवा मन्त्री छन् ।
शुक्रबार अर्डर्नले प्रधानमन्त्री पद छोड्ने घोषणा गरेकी थिइन् । हिपकिन्स कति समय पदमा रहन पाउँछन् अनिश्चित छ । किनकि न्युजिल्याण्डमा अक्टुबरमा आम चुनाव हुँदै छ ।
आफ्नो सामर्थ्यले नभ्याएपछि पद त्यागेर न्युजिल्यान्डकी ४२ वर्षीया प्रधानमन्त्रीले दिएको सन्देश (भिडियो)
प्रधानमन्त्री बन्नुअघि उनलाई प्रतिनिधिसभामा लेबर पार्टीको औपचारिक समर्थनको आवश्यकता पर्ने छ । अर्डर्नले ७ फेब्रुअरीमा गभर्नर जनरललाई राजीनामा बुझाउने छिन् । त्यसपछि हिपकिन्सलाई नियुक्त गरिने छ ।

