माडी । ‘बाँदरमुढे खोलामा आउँदा मेरो मुटु काँप्छ । परिवार सम्झेर होस हराएजस्तो हुन्छु’, माडी अयोध्यापुरी–७ की सीता सुवेदीको भनाइ हो यो ।
उनी १६ वर्षअघि २०६२ साल जेठ २३ गते अर्थात् आजकै दिन तत्कालीन विद्रोही नेकपा (माओवादी)ले विद्युतीय धरापबाट चितवनको कल्याणपुर गाविसस्थित कल्याणपुर र वसन्तपुर बजारबीच बाँदरमुढे खोलामा सर्वसाधारण चढेको ना १ ख ३२४५ नम्बरको बसमा गराएको बम विस्फोटमा श्रीमान् आत्मराम र छोरी अञ्जलीसहित परेकी थिइन् । श्रीमान् र छोरीको मृत्यु भयो भने उनी घाइते भइन् ।
विस्फोटमा परी ३४ जना सर्वसाधारण र तीन सुरक्षाकर्मीसहित ३७ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पछि उपचारका क्रममा थप ५ जनाको मृत्यु भयो । ७० जना घाइते भएका थिए ।
घटनास्थलनजिकै घर भएकी भुवनशान्ति पौडेल घटना सम्झन चाहन्नन् । उनका श्रीमान् पनि सोही घटनामा घाइते भए । उनको ढाड र टाउको दुख्ने समस्या छ । टाउकोमा चोट लागेका पौडेलका श्रीमान् नियमित औषधि खाइरहन्छन् । ‘एकातिर जीवनभर शारीरिक पीडा बोकेर जिउनुको पीडा, अर्कोतिर न्याय नपाउँदाको पीडा छ’, उनी भन्छिन्, ‘यतिका वर्ष यसरी नै बित्यो अरु वर्ष पनि यसरी नै बित्छ त्यसपछि जीवन सकिन्छ । न्याय पाइएला भन्ने कत्ति पनि आश छैन ।’
जेठ २३ को दिनले माडीवासीलाई बर्सेनि झस्काउने मात्र होइन, नमीठो पीडा दिने गरेको छ । छतमा समेत गरी करिब १३० जना यात्रु बोकेको सो बस बम विस्फोटमा परेपछि केही फिट माथि उछिट्टिएर थचारिएको थियो । अहिले बताइएअनुसार, सो बम झण्डै ७० किलोग्राम तौलको थियो । झन्डै ३०० मिटर टाढासम्म खाल्टो खनेर रिमोट कन्ट्रोलको तार र बम राख्न चार÷पाँच घन्टा लागेको थियो । यस काममा माओवादीका चितवन जिल्ला कमिटीका कार्यकर्ताहरु संलग्न थिए । उनीहरुको भनाइमा यो काम हेडक्वाटरकै आदेशमा भएको थियो ।
घटनामा परी ६ जना बालबालिकाले ज्यान गुमाए भने घाइते भएका ७ बालबालिकाले कठोर पीडा झेलिरहेका छन् । बाँदरमुढे घटनाका ७२ घाइतेमध्ये १२ जना शारीरिकरुपमा अपाङ्ता भएका छन् । ती घाइते कुनै पनि काम गरेर खान नसक्ने अवस्थामा रहेका छन् ।
सादा पोसाकमा सार्वजनिक बसमा चढेका १२ जना सैनिकप्रति लक्षित विस्फोटको निशानामा महिला र अबोध बालबालिकासहितका निर्दोष नागरिक परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त घटनालाई ‘दसवर्षे जनयुद्धको सबैभन्दा ठूलो कलंक’ भन्दै गत प्रतिनिधिसभाको निर्वाचनमा बाँदरमुढेका जनतासँग माफी मागेका थिए । तत्कालीन माओवादीका नेतृत्व प्रचण्ड अहिले सो क्षेत्रको सांसद्समेत रहेका छन् ।
माओवादी पार्टीलाई नै सर्वाधिक आलोच्य बनाएको उक्त घटनापश्चात तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घाइतेहरुको आर्थिक उपार्जनका लागि माडीमा ‘राहतको प्याकेज’ ल्याउने उद्घोषा गरेका थिए । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेका सहमति अझै लागू हुन सकेको छैन । मृतकका आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई पढाइ दिने सहमति भएको थियो ।
घाइतेको अवस्थाहेरी औषधि उपचारको व्यवस्था गर्ने, काम गर्न सक्नेलाई रोजगार र नसक्नेलाई जीवनवृत्ति दिने सहमति थियो । यसैगरी घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० विगाह जमिनमा नमुना संग्रहालय बनाउने अर्को सहमति पनि भएको थियो । अहिले ती कुनै पनि सहमति पूरा भएका छैनन् ।
बिनाकारण ज्यान गुमाएपछि माडीवासीले सुरू गरेको न्यायको लडाइँ अझै पूरा भएको छैन । घटनाका पीडितले अझै पनि न्याय मागिरहेका छन् । बाँदरमुढे खोलामा स्मारक बनेको छ । बाँदरमुढे स्मारकमा भने ३८ जना मृतक र ७५ जना घाइतेको नाम राखिएको छ । घटना घटेको एक वर्षपछि बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर पीडितहरुले न्याय माग्दै आएका छन् ।
घटनामा आफन्त गुमाएका र अपाङ्गता भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् । तत्कालीन माओवादीले सरकारको नेतृत्व गरिसकेको र पटकपटक सरकारमा पुग्दासमेत पीडितको पक्षमा न्याय हुन सक्ने गरी काम गर्न नसके पीडितहरु बताउँछन् । आश्वासन आउने गरेको तर काम नभएको उनीहरुको गुनासो छ ।
सो घटनाका अधिकांश घाइते शारीरिकरुपमा अशक्त छन् । कतिपय सामान्य काम पनि गर्न सक्दैनन् । केही घाइते नियमित उपचार र औषधि सेवन गर्छन् । बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारी पीडितलाई न्याय दिन आलटाल हुने गरेको बताउँछन् । ‘सम्झिन्न भन्दा पनि त्यो कहालीलाग्दो घटना आँखैअगाडि आउँछ’, उनी भन्छन्, ‘न्याय माग्दामाग्दै १५ वर्ष बितिसक्यो, अब त न्यायको आश पनि मर्न थाल्यो । यसले साह्रै पीडा हुन्छ ।’
इचितवन पोस्ट बाट