चितवन, जेठ २४-
चितवनमा दोस्रो चरणको खोप अभियानअन्तर्गत भोलिबाट दुई दिनसम्म वृद्धवृद्धालाई चीनको भेरोसिल खोप पहिलो डोज लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले ६२, ६३ र ६४ उमेर समूहमा लगाइने यो खोप चितवनका विभिन्न खोप केन्द्रहरुमा लगाउन सकिने जनाएको हो । यो उमेर समूहका वृद्धवृद्धा चितवनमा झण्डै १० हजार रहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले भनिन्, ‘ चीनमा उत्पादन भएको भेरोसिल खोप चितवनमा पहिलो पटक लगाउन लागिएको हो । काठमाडौँलगायत अन्य जिल्लामा लगाएको अनुभवहरु सुन्दा यो खोपको
साइड इफेक्ट भारतमा बनेको कोभिड सिल्डको भन्दा कम छ । यहाँ कति साइड इफेक्ट देखिन्छ खोप लगाएपछि थाहा हुन्छ ।’
चितवनका यस अघि ६५ वर्षमाथिका वृद्धवृद्धालाई कोभिडसिल्ड खोपको पहिलो डोज लगाइएको थियो । जसको दोस्रो डोज चार महिना बित्दा पनि वृद्धवृद्धाले लगाउन पाएका छै्नन् ।
स्वास्थ्य कार्यालय चितवनले आज एक सूचना जारी गर्दै वडामा रहेका खोप केन्द्रहरुमा आफ्नो परिचयपत्र लिएर ६२ देखि ६४ उमेर समूहका वृद्धवृद्धालाई खोप केन्द्रमा जान अनुरोध गरिएको छ । सूचनामा भनिएको छ, ‘ लक्षित वर्गमा परेका सबैले खोप लगाऔं, कोरोना नियन्त्रण गरौं । २५ र २६ गतेका दिन दुई दिन खोप लगाइने भएकोले सबैले उमेर खुल्ने परिचयपत्र बोकेर स्वास्थ्य केन्द्रमा जाऔं ।’