विवेकशील पार्टीका संस्थापक तथा विवेकशील साझाका केन्द्रीय सदस्य उज्वल बहादुर थापाको उपचारको लागि उठेको रकममध्ये उपचार खर्च कटाएर बचेको रकम देशभरका सातवटा संस्थाहरूलाई वितरण गरिएको छ।
थापाको उपचार गर्नको लागि तीन हजार आठ सय व्यक्तिहरूबाट संकलित ६७ लाख ८३ हजार चार सय ८५ रुपैयाँ संकलन भएको उनको पारिवारीक स्रोतले जनाएको छ।
जसमध्ये २४ लाख २० हजार तीन सय ४९ रुपैयाँ उपचारमा खर्च भएको थियो। बैंक तथा रकम स्थानान्तरण गर्न एक लाख १० हजार ९ सय ३४ रुपैयाँ खर्च भएको पारिवारीक स्रोतले जनाएको छ।
बचेको ४२ लाख ५२ हजार दुई सय दाताहरूलाई फिर्ता गर्न असम्भव भएकाले कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई हस्तान्त्रण सहयोग गरिरहेका संस्थाहरूलाई प्रदान गरिएको जनाइएको छ।
भोरे नेपाल, सर्लाहीलाई साढे दुई लाख, हार्टबिट, काठमाडौंलाई दुई लाख, मधेश ह्युमन राइट्स होम, कपिलवस्तुलाई दुई लाख दुई हजार दुई सय एक, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौंलाई पाँच लाख, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौंलाई १५ लाख, ओडा फाउन्डेसन, कालिकोटलाई १० लाख तथा सानो पाइला, वीरगन्जलाई ६ लाख दिइएको छ।
थापाको घरमै आयोजित रकम हस्तान्त्रण कार्यक्रममा स्वर्गीय थापाकी श्रीमती एरिका अधिकारीले सबैलाई धन्यवाद दिँदै सहयोग रकमले समस्यामा रहेका व्यक्तिहरूलाई मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। विवेकशील साझा पार्टीका सस्थापक थापाकाे काेराेना संक्रमणबाट ज्यान गएकाे थियाे।
पूरा विस्तृत रिपोर्ट पढ्नका लागि : यहाँ थिच्नुहोस।