अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा युवा व्यवसायी ध्रुवबहादुर थापाले उम्मेदवारी दिने भएका छन् । आगामी भदौ अन्तिम साता हुने नाडाको केन्द्रीय अधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने थापाले जानकारी दिएका छन्।
नाडाको बर्तमान कार्यसमितिमा रहेर काम गरिरहेका थापाले यस अगाडिको २ कार्यकालसम्म उपाध्यक्ष भएर काम गरिसकेका छन् । साथै नाडाको बर्तमान कार्यसमितिमा विद्युतीय सवारी साधन समितिको सभापतिसमेत रहेका छन् । थापा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन अफ नेपाल (वाडा)को पूर्व अध्यक्षसमेत हुन् ।
नाडालाई सबै अटो व्यवसायीको साझा संस्था बनाउने लक्ष्यसहित आफूले उम्मेदवारी दिन लागेको थापाले बताए । ‘बिगतका इतिहासमा नाडाको जुन गरिमा, जुन उचाई थियो त्यसलाई पुनः सोही स्थानमा पुर्याउनेछु भने विधान संशोधन गरेर नाडामा हाल रहेका विकृति, विसंगति हटाउने मेरो लक्ष्य हुनेछ,’ उनले भने ।
सबै अटोमोबाइल व्यवसायीले नाडा मेरो संस्था हो भन्ने वातावरण आफूले तयार पार्ने थापाले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘अहिले नाडामा केही सीमित कम्पनीहरुले मात्र कब्जा जमाएर बसेका छ्न । उनीहरुले चाहेका व्यक्ति मात्रै वा एक दुई टर्ममा ब्याक टु ब्याक आफू मात्र नेतृत्वमा आउने गरी नाडालाई प्रा.लि. जस्तो बनाइएको छ,’ थापाले भने, ‘मैले यो परिपाटीमा परिवर्तन ल्याउदै जो सुकै सक्षम अटोमोबाइल व्यवसायी नेतृत्वमा आउन सक्ने वातावरण तयार पार्ने छु ।’
अध्यक्ष हुनको लागि कम्तीमा २ कार्यकाल पदाधिकारी हुनैपर्ने व्यवस्था ल्याउने थापाले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘नाडालाई राष्ट्रिय स्तरको संस्थाको रुपमा मान्ने हो भने आफू अन्तर्गतका प्रादेशिक क्षेत्रबाट अर्थात बाहिर जिल्लाबाट आउने सक्षम व्यक्तिहरु पनि नेतृत्वमा आउन सक्ने वातावरण बनाउने छु,’ थापाले भने । प्रादेशिक संरचनालाई अझै मजबुत बनाउँदै प्रदेशसँग छलफल गरेर अघाडि बढ्ने, नाडा भित्रका आयातकर्ता र स्पेयर पार्ट्स व्यवसायीहरुबीच हाल बढ्दै गएको दुरिलाई समन्वयात्मक भूमिका निर्वाह गर्दै सबैको नाडा सबैको साझा संस्थाको रुपमा विकास गर्ने उनको प्रतिबद्धता छ ।
‘नाडामा बिगत केही वर्षदेखि २-३ वटा ठुला कम्पनीहरुले एक प्रकारको सिन्डिकेट चलाएर बसेका छन् । यो पछि यो अध्यक्ष हुने भनेर भनेर ४–५ टर्म पछिसम्मका अध्यक्ष पहिले नै निर्धारण गरिएको हुन्छ,’ थापाले भने, ‘एक प्रकारले भन्ने हो भने राजा बनाउन पहिले नै राजकुमार बनाए जस्तो अध्यक्षको लागि पनि पहिले नै व्यक्ति निर्धारण गर्ने र अर्को कुनै व्यक्ति चुनाव लड्न खोज्यो भने उसलाई जसरी हुन्छ परास्त गर्न अनेक हथकण्डा अपनाउने प्रवृत्ति मौलाएको छ । अब म अध्यक्ष भएँ भने यो खालको विकृति हटाएर नाडाको साझा एजेन्डामा काम गर्न सक्ने सक्षम व्यक्ति जो सुकै पनि नेतृत्वमा आउन सक्ने वातावरण बनाउनेछु ।’
थापाले फोर्स गाडीका लागि नेपालको इम्पोर्टर तथा डिष्ट्रिव्युटर्स भएर काम गरिरहेका छन् । निमजी इलेक्टिक थ्रि ह्विलर्सको इम्पोटर तथा डिष्ट्रिव्युटर्स, ब्राइसन इलेक्ट्रिक बसको इम्पोर्टर तथा फोर्ड गाडी र सुजुकी टु ह्विलर्सका लागि गण्डकी धौलागिरी क्षेत्रका लागि डिलर भएर काम गरिरहेका छन् ।