ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालले डलरमा खरिद गर्नुपर्ने एलपी ग्यास विस्थापित गरी विद्युत् खपत गर्ने अभियानमा सघाउन अपिल गरेकी छन्।
ललितपुर महानगरपालिका–३ मा आज आयोजित विद्युतीय गाडी र विवेकशील बत्ती शुभारम्भ कार्यक्रममा उनले ललितपुरका जनतालाई विद्युतीय सामग्री प्रयोग गर्न आग्रह गरिन्।
मन्त्री भुसालले एलपी ग्यास विस्थापित गर्ने गरी विद्युत उपभोग गर्नुपर्नेमा जोड दिइन्। ‘बिजुलीको चुलोमा खाना पकाउन सबैलाई आग्रह गर्न चाहन्छु,’ उनले भनिन्। विद्युत् महसुल दर घटाउने नीति सार्वजनिक गर्न लागेको भन्दै घरेलु उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर केही दिनमै कम गर्ने बताइन्।
भान्सादेखि सवारीसाधनसम्म विद्युतीय ऊर्जा प्रयोग गर्नसमेत उनले अपिल गरिन्। भुसालले भनिन्, ‘हाम्रो देशको पैसा हाम्रै देशमा खर्च गर्न लागौँ। त्यसले मात्रै व्यापारघाटा कम गर्न सहयोग गर्छ।’
सिंहदरबारको अधिकार घरदैलोमा भन्ने नारा दिएर तीन तहको सरकारको व्यवस्था गरिएको स्मरण गर्दै उनले ललितपुर वडा नं ३ ले समाजका सबै क्षेत्र वर्ग र समुदायलाई आफ्नो उत्कृष्ट प्रशासनिक, सेवा र सुविधा दिन सफल भएको बताइन्।
कार्यक्रममा वडाध्यक्ष श्रीगोपाल महर्जनले स्वास्थ्य चौकी व्यवस्थित गरेको, वडाबासीका लागि निःशुल्क विद्युतीय गाडीको सेवा उपलब्ध गराएको र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराएको बताए। कार्यक्रमा मन्त्री भुषालले विवेकशील बत्ती सार्वजनिक गर्नुका साथै विद्युतीय गाडीको शुभारम्भ गरिन्।