भरतपुर । देशकै मुख्य ‘लाइफलाइन’को रुपमा हेरिएको नारायणगढ–मुग्लिन सडकखण्डले वर्षाको समयमा हरेक वर्ष दुःख दिने गरेको छ । पानी पर्नासाथ पहिरो झर्ने र भासिने समस्याले यो बाटो भएर हिँड्ने यात्रु समस्यामा परेका छन् ।
सडक बिस्तारपछि करिब दुई वर्ष शान्त बनेको यो सडकमा पुनः पहिरो जाने समस्या दोहोरिएपछि यात्रुले सास्ती भोग्न बाध्य भएका हुन् ।
सडक बिस्तार हुनुअघि पाएको दुःख बिर्सिन नपाउँदै यात्रुहरुले पुनः उही दुःख व्यहोर्नुपरेको छ । बिहीबार राति पनि यात्रुहरुले नराम्रोसँग दुःख पाए । सडकखण्डको भरतपुर महानगरपालिका वडा नम्बर–२९ स्थित सेती दोभानमा लेदोसहितको ठूलो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएपछि यात्रुहरु रातभर जाममा फसे ।
१३ घन्टापछि शुक्रबार बिहानमात्रै उक्त सडक खुल्यो । यद्यपि पहिराको जोखिम भने कायमै छ । यात्रुहरु जोखिम मोलेरै यस सडकखण्डमा यात्रा गर्न बाध्य छन् । बिहीबार काठमाडौँदेखि सुर्खेत हिँडेका सविन पोख्रेल घर पुग्ने बेलासम्म पनि जाममै अड्किए । शुक्रबार सडक खुल्ने संकेत मिलेपछि उनले भने, ‘यतिबेला त घरै पुगिसकिन्थ्यो । पहिरोले गर्दा अझै यहीँ छु । यसअघि पनि यो सडकमा ३१ घन्टासम्म जाममा परेको छु । यो बाटोको समस्या सधैं यस्तै हुने भो ।’
यस खण्डमा यात्रा गर्नु भनेको खुकुरीको धारमा ज्यान राखेर हिँड्नुसरह भएको उनले गुनासो गरे । बिहीबारदेखि वर्षाका कारण यस खण्डको चौध किलोनजिक सडक भासिएको छ भने विभिन्न स्थानमा पहिरो खसेको छ । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिनसम्म देशभर वर्षा हुने बताएको छ ।
असार पहिलो साता भएको वर्षामा पनि यस खण्डको विभिन्न स्थानमा पहिरो गएर सडक अवरूद्ध भएको थियो । पहिरोमा परेर केही यात्रु घाइतेसमेत भएका थिए । पानी पर्दा यस खण्डमा पहिरो जाने जोखिम उच्च हुने भएकाले सजगता अपनाएर यात्रा गर्न चितवन ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले आग्रह गरे ।