निराज रानाभाट , भरतपुर , चितवन
चितवन जिल्लामा पुस ०७ गते , बुधबार ( आज ) बाट इ – पासपोर्ट ( विद्युतीय राहदानी ) वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले बुधबार ( आज ) बाट इ – पासपोर्टका लागि अनलाइन फारम खोल्ने जानकारी दिए ।
उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फारम भर्नुपर्छ । घरबाटै फारम भर्न सकिने छ । ‘ मोबाइलबाट पनि फारम भर्न सकिन्छ , तर नागरिकता र फोटो अपलोड गर्ने क्रममा समस्या सिर्जना भने हुन सक्छ ’ पौडेलले भने । अनलाइनबाट मिति र समय पहिले नै बुक गर्नुपर्ने छ ।
उनले आफैले भर्न नसक्नेहरुले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि कम शुल्कमा अनलाइनबाट फारम भर्न सकिने व्यवस्था गरिने पौडेलले बताए ।
यस्तै , अनलाइन फारम भर्ने सेवा दिने पसलहरुमा गएर पनि भर्न सकिने छ । व्यावसायिक पसलहरु फारम भरेको रकम बढी लिएको महशुस भएमा प्रशासनलाई खबर गर्न उनले आग्रह गरे । अनलाइन फारम भर्दा बढी शुल्क लिएमा कारबाही गरिने उनको भनाइ छ ।