निराज रानाभाट , काठमाडौं : सबैभन्दा पुरानो ल्होसार `तोल ल्होसार ´ हो । तोलको अर्थ समयचक्र हुन जान्छ । त्यसैले यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ ।
नेपालका हिमाली जिल्लाहरु डोल्पा , मुगु , मनाङ्ग , हुम्ला , जुम्ला र तिब्बत तथा भुटानका वा भुटानी मूल भएर नेपालमा बसोबास गर्ने मानिसहरुले प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाको दिनमा रमाईलो गरि धुमधामका साथ मनाउने गर्दछन् । सोनाम ल्होसार मनाए जसरी मनाइने यो चाडको दिन मात्र फरक हुने गर्दछ ।
दुईवटा शब्द `लोसार’ मिलेर बनेको ल्होसारको अर्थ भोट , भुटानी , शेर्पाली , डोल्पाली , इत्यादि भाषा अनुरुप ‘ लो ’ को अर्थ वर्ष र ‘ सार ’ को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो चाड वा पर्व नयाँ वर्षको आगमनको लागि मनाउने गरिन्छ । ल्होसारलाई लोसार , ल्होछार पनि भन्ने गरेको पाइन्छ । मुख्यतया हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने चाडपर्व हो ।
आज ( साेमबार ) को दिन घर आगन लिपपोत गरि शुद्ध पारिन्छ र स्नान गरि पुजा गरिन्छ । लामा पुरोहितबाट वा घरको मुल व्यक्तिबाट पुजाआजा गराई गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भुत प्रेतको पराजय होस् भनि प्रार्थना गरिन्छ । अनि अग्रज तथा मान्यजनबाट आशिर्वाद लिँदै फुरौला , बाबरी रोटी , कन्दमुल , आदि ग्रहण गरिन्छ ।