सामाजिक सञ्जाल फेसबूकमार्फत् ब्ल्याकमेल गरी बालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका एक युवालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ।
फेसबूकमा ‘सौगात महर्जन’ (Saugat Maharjan) नामको नक्कली आइडी बनाएर बालिकालाई साथी बनाइ ब्ल्याकमेल गरी बलात्कार गरेको आरोपमा महानगरीय बृत्त महाराजगञ्जको टोलीले काभ्रेको पनौती नगरपालिका–१ स्थायी घर भइ ललितपुरको पाटन बस्दै आएका २१ वर्षीय सुजन श्रेष्ठलाई पक्राउ गरेको थियो।
प्रहरीको अनुसन्धानका क्रममा उनले नक्कली फेसबूक अकाउन्ट बनाएर बालिकालाई फ्रेण्ड–रिक्वेस्ट पठाएर गफ (च्याट) गर्ने गरेका खुलेको थियो। बालिकालाई विभिन्न प्रलोभनमा पारेर उनले भिडियो कलमा गोप्य अंग देखाउन लगाउने गरेका थिए।
पछि गोप्य अंग देखाएको भिडियो आफन्त र स्कूलका साथीलाई पठाइदिने र सामाजिक सञ्जालमा भाइरल गरिदिने भन्दै धम्की दिएर उनले ती बालिकालाई भेट्नका लागि दबाब दिने गरेका थिए।
गत पुस २७ गते बालिकालाई काठमाडौंको बुढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घरको पछाडि भेट्न बोलाइ बलात्कार गरेर उनी फरार थिए।
प्रहरीले उनलाई पुस ३० गते पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धान सकिएपछि माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाइएको थियो।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
काठमाडौं जिल्ला अदालतले आइतबार थुनछेक आदेश गर्दै श्रेष्ठलाई मुद्दाको पुर्पक्षका लागि जेल चलान गर्न भनेको हो। अदालतको आदेशपछि श्रेष्ठलाई कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।