भरतपुर महानगरभित्रका विद्यालयहरु फागुन १ देखि सञ्चालनमा आउने भएका छन् । शैक्षिक प्रशासन महाशाखाले आज (बिहीबार) सूचना जारी गर्दै महानगरभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु खोल्ने निर्णय गरेको छ ।
नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालद्वारा जारी सूचनामा सबै तहका सरकारबाट जारी भएका भविष्यमा जारी हुने मापदण्ड र सुरक्षात्मक उपाय अवलम्बन गरी गरी फागुन १ देखि भौतिक रुपमा पठनपाठन सञ्चालन गर्न सम्बन्धित वडालाई समन्वय गर्न पनि अनुरोध गरेको छ।
सूचनामा महानगरभित्रका कुनै विद्यालय वा क्षेत्रमा संक्रमण बढेको अवस्थामा शैक्षिक प्रशासन महाशाखा र जनस्वास्थ्य प्रवद्र्धन शाखासँग समन्वय गरी सञ्चालन सम्बन्धनमा आवश्यक निर्णय र सहजीकरण गर्न वडा शिक्षा समितिलाई जिम्मेवारी दिइएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि देशभरका विद्यालयहरुमा माघ १ देखि पठनपाठन रोकिन पुगेको थियो । १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाएपछि विद्यालयहरु खुल्न लागेका हुन् । महानगरमा मात्रै हालसम्म ३१ हजार ७ सय ९१ जना विद्यार्थीले मोर्डना खोप लगाएका छन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाले सम्पूर्ण विद्यार्थीहरुलाई खोप लगाउने व्यवस्था गर्न सामुदायिक विद्यालयहरुलाई पनि खोप केन्द्र बनाएको बताउनुभएको थियो।