नेपाली ईतिहासमा कयौं क्रान्तिहरु भएका छन्। यी क्रान्तिहरु को कुरा गर्दा भीम दत्त पन्त नछुटिने नाम हो। भीम दत्त पन्त को नाम नसुन्ने कमै होलान्, तर उनका क्रान्तिकारी कथाहरु र उनको शाहस को कथा जान्ने कमै मात्र छन्।
सुदुरपश्चिम प्रदेशको डडेलधुरा जिल्ला अमरगढी २, कारीगाउँमा वि. सं. १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त समाजवादी किसान आन्दोलनका नेतृत्वकर्ता थिए। उनी दलित र गरिब किसानको पक्षमा लड्ने महान अभियन्ता थिए। “ठालु खान्ना आलु, गरिब खान्ना बास्मती” भन्ने नाराका साथ उनले तमसुक च्यात भकारी फोड आन्दोलन चलाएका थिए। जसको जोत उसको पोत, किसान जिन्दावाद , जनताको राज जिन्दावाद भन्ने भीम दत्त एक विद्रोही नाम हो। भारतमा अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। भारतमा अध्ययन गरेर फर्केपछि २००७ सालमा गरिब, दलित, जनजाति (मगर, थारु) आदिलाई संगठित गराई उनले राणाविरोधी आन्दोलन सुरु गरेका थिए। २००७ सालपछिको राजनैतिक परिवर्तनपछि केही समय उनी काङ्ग्रेस मा आवद्ध रहे तर पछि काङ्ग्रेसको व्यवहार मन नपरेर कम्युनिष्ट तिर गए। कम्युनिष्ट पार्टीमा आवद्ध भएपछि उनले वाम आन्दोलन सुरु गरे। काङ्ग्रेस सँग मत भिन्नता भएपछि उनले जय नेपाल को सट्टा “जय जनता” भन्न थालेका थिए। कि जोत हलो, कि छोड थलो होइन भने छैन भलो। यस्ता क्रान्तिकारी नारा लिएर उनी दलित र गरिब किसानका लागि लडिरहे। सुदुरपश्चिम को भ्रमण मा रहँदा उनले कयौं गरिब र दलितले नुन सम्म पनि खान नपाएको देखे। त्यसपछि उनले नुन आन्दोलन सुरु गरे। उनले कञ्चनपुरको ब्रहमदेव मा रहेको एक भन्सारमा लगाइएको ताला फुटालेर नुन, तेल, लत्ताकपडा गरिबहरुमा बाँडे। गरिब र धनिलाई एकै बनाउने भन्दै उनले मुक्ति सेना गठन गरे। उनको मुक्ति सेनामा दलित, थारु, मगर आदि थिए। मुक्ति सेनाले जाली तमसुक बनाएर श्रम शोषण गर्ने ठालुलाई कारवाही गर्न थाले। उनले आफ्नै पिता विरुद्ध पनि आन्दोलन गरेका थिए। तपाईं पनि सामन्ती हो भनि तमसुकहरु च्यातिदिएका थिए। उनले आन्दोलनकारीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे। जसका कारण ठालुहरु चिढिएर उनलाई पागल भन्थे। बैलोरीमा एक बैंक कब्जा गरी सेनालाई तलब दिएर बाँकी पैसा गरिब किसानमा बाँडिदिएका थिए। उनले आफ्नो सम्पूर्ण जीवन गरिब किसानलाई दिएका थिए। जसका कारण उनले आफ्नो परिवारलाई समेत ध्यान दिन पाएका थिएनन्। जसका कारण उनले पाँच वर्ष को जेठो छोरा र साढे दुई वर्षको कान्छो छोरा समेत गुमाउन परेको थियो। दोस्रो विवाह गरेर एक छोरी जन्मेकी थिइन्, उनको पनि निधन भएको थियो।

