चितवन, कात्तिक २० : चितवन क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले शिक्षामा विकास गर्न अति आवश्यक रहेको बताएका छन् ।
आज (आइतबार) शैक्षिक परामर्श कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा ठूूलो लगानी आवश्यक रहेको बताएका हुन् । सरकारी विद्यालयमा लगानी बढाएर गुणस्तर बढाउनका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको बताउँदै उनले सबै गरिब जनताको सीप र शिक्षामा विकास नगरी नहुने धारणा राखे ।

उनले हाल सरकारी विद्यालयमा शिक्षकको दरबन्दी थप्न आवश्यक रहेको र त्यो काम आफूले देशभरी नै गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । शिक्षामा ठूलो लगानी गर्ने गरी आफूूले शिक्षाको संघीय संरचनालार्ई जोड दिँदै कानुन निर्माणमा पहल गर्ने उनको भनाइ छ ।
“चितवनको इच्छाकामनाको डाँडामा पुग्दा मेरो मनै कटक्क खायो । चण्डिभञ्ज्याङ्गको एउटा हाइस्कुलमा पुुग्दा खेरी मेरो मन असाध्यै छोएको छ, उनले भने, “त्यो ५० वर्ष पूरानो स्कुल न भौतिक पूर्वाधार छ । एउटा प्राइमरी लेभलको शिक्षकले हाइस्कुल पढाउनु परेको छ । अरे यो हाम्रो शिक्षाको गुणस्तर कसरी बढ्छ ? खै दरबन्दी ? खै पूर्वाधार ?’
अब धेरै पढ्न नसक्ने युवाका लागि सीप सिकाउने शैक्षिक संस्था खोल्न आवश्यक रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा आवासीय व्यवस्थासहितका विद्यालयहरु खोल्न आवश्यक रहेको बताए । गाउँमा स्कुल टाढा हुँदा विद्यार्थीलाई जान आउन समस्या हुने भएकाले त्यही बसेर पढ्ने व्यवस्था मिलाउन आफूले पहल गर्ने उनको प्रतिवद्धता थियो ।
‘म पनि पहाडको कन्दराको व्यक्ति भएको कारणले गर्दा मलाई जीवनको सुखदुुःख सबै थाहा छ । देशको प्रगतिको मुहार भनेको शिक्षा हो’ उनले भने ।

