भरतपुर, कार्तिक २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायमै रहने बताउनु भएको छ ।
भरतपुरमा आज आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले निकै दुःख गरेर गठबन्धन बनाइएकोले प्रतिगमनको खतरा नटरेसम्म कायमै रहने बताउनु भएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ संविधानको रक्षा, गणतन्त्रको रक्षाको लागि गठबन्धन बनेको हो । प्रतिगमनको खतरा कम बन्दै गएको छ । मंसिर ४ गते प्रतिगमनले टाउको उठाउन नसक्ने गरी एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने पराजित हुनेछन् ।’
उहाँले आगामी निर्वाचन देशलाई पछाडि धकेल्ने वा अगाडि लैजाने भन्ने विषयको जनमतसंग्रह जस्तो रहेको विचार राख्नुभयो । उहाँले यो पटक अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्न मतदातालाई अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संविधानसभामा संविधानको घोषणा भएपछि जे अपेक्षा गरिएको थियो तर संविधानमा हस्ताक्षर गरेका दलहरु नै च्यात्न लागे ।’
अध्यक्ष प्रचण्डले चितवनबासीले २०७४ सालमा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘ चितवनमा धेरै परियोजनाहरु ल्याएर धेरै काम भएका छन् । सडक सञ्जाल, शिक्षा, रोजगारी सबैकुरा तपाइँहरुलाई कण्ठै छ । अहिले म गोरखाको क्षेत्र नम्बर २ मा छु । निर्वाचन लड्न गए पनि मेरो घर चितवन नै हो । चितवनप्रति विश्वास र सहयोग , विकासप्रति चासो रहन्छ ।
प्रधानमन्त्रीलाई साक्षी राखेर विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । ’
प्रचण्डले आफू रोल्पा, काठमाडौँ, सिरहा, चितवन हुँदै गोरखा गएको बताउँदै जनक्रान्तिको तयारी गोरखामा बसेर गरेपछि गोरखा गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवन छाडेको भन्ने होइन, सम्बन्ध हिजो पनि छ आज पनि छ र भोलि पनि रहँनेछ ।’ जतिबेलासम्म अगाडि बढ्नेछ जतिबेलासम्म देशमा राजनीतिक दुर्घटनाको सम्भावना रहन्छ तबसम्म गठबन्धन रहने उहाँको दाबी थियो ।
उहाँले भन्नुभयो, ‘हिजोको धेरै प्रयोग सफल र असफल नै भए । संविधानको रक्षा, स्थिरता, विकास र समृद्धिको लागि गठबन्धन बनेको छ । मेरो बाँकी जीवन आर्थिक क्रान्ति र विकासको लागि भन्ने संकल्प गरेको छु । गठबन्धनलाई विजयी गराउन अनुरोध गर्दछु ।’

