चितवन कार्तिक २६ : हाम्रो नेपाली पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सागर ढकाललाई अघि सार्ने निर्णय गरेको छ । डडेलधुरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी रहेका ढकाललाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्दै उनलाई विजय गराउन डडेल्धुराबासी मतदातालाई अपिलसमेत गरेको छ ।
पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा सम्पूर्ण मतदाता माझ हाम्रो नेपाली पार्टी (लौरो अभियान ले देशमा रहेका भ्रष्ट नेताहरूलाई जेल हालेर सुन्दर र समृद्ध नेपाल बनाउने मुख्य लक्ष्यका साथ देश भरका स्वतन्त्र युवा, इन्जिनियर, डाक्टर तथा अभियन्ताद्वारा लौरो चुनाव चिन्ह लिएर प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार आउनु भएको व्यहोरा सर्वविदितै छ । आगामी मङ्सिर ४ पछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा ई. सागर ढकाल लाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान) को निर्णय भएको व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराउँदछौ ।’


