निर्वाचन आयोगले प्यूठानबाट नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार सूर्य बहादुर थापालाई पुन: स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई २ हजार दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने व्यहोराको समाचार प्रकाशन भएको प्रति आयोगको ध्यानाकर्षण भई स्पष्टीकरण सोधिएको जनाइएको छ ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा ‘उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा वकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सीलिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन हुँदैन,’ भन्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
स्पष्टीकरणमा भनिएको छ- निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होईन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारafही हुनु नपर्ने हो ?
आयोगले थापालाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

