चितवन मङ्सिर ९ : काभ्रेपलाञ्चोक २ मा एमालेका गोकुल बास्कोटा निर्वाचित भएपछि कांग्रेसभित्र भाँडभैलो भएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका शिव हुमागाईं पराजित भएपछि उनीमाथि अन्तर्घात भएको भन्दै कांग्रेसकै नेता कार्यकर्ताले आक्रोश पोखेका हुन्।

कतिपयले राजीनामा दिएका छन् भने वडा तहको कार्यसमिति बैठक नै बसेर दोषीमाथि कारबाही नभएसम्म निष्क्रिय बस्ने लिखित निर्णय गरेका छन्।
शुक्रबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बास्कोटाले ४५ हजार ३४५ मत पाएका छन् भने हुमागाईले ३९ हजार ४८२ मात्रै मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका दिनेश हुमागाईंले १० हजार ७५३ मत पाउँदा काभ्रे २ को चुनाव थप रोचक बन्यो।
माओवादी र एकीकृत समाजवादीको बलियो साथ पाएका हुमागाईंले आफ्नै पार्टीभित्रको असहयोगका कारण चुनावमा पराजय भोग्नु परेको बताइएको छ। हुमाईंले मतदातालाई धन्यवाद दिँदै आफ्नै पार्टीभित्र र बाहिरबाट चौतर्फी घेराबन्दीको सामना गर्नु परेको गुनासो गरेका छन्।
उनले भनेका छन्, ‘उम्मेदवार हुँदा निर्वाचनको क्रममा आफ्नै पार्टी भित्र र बाहिरको चौतर्फी घेराबन्दी र चक्रव्यूहमा अन्तिमसम्म लड्दै गर्दा कति पनि विचलित नभई काभ्रेली जनताको स्वाभिमान कायम राख्नका खातिर आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।’
उनको हारप्रति असन्तुष्टि जनाउँदै देउपुर मण्डन वडा नम्बर १ वडा कार्यसमितिले अन्तरघातीका कारण लोकतान्त्रिक आर्दशमा बाच्ने कांग्रेस कार्यकर्ताको मुटुमा कुल्चिएको आभास भएको निष्कर्ष निकालेको छ।
वडा सभापति सुमन तामाङको अध्यक्षतमा बसेको वडा कार्यसमितिको बैठकले चुनाव हराउन लाग्नेप्रति कारबाही नहुञ्जेल निष्क्रिय रहने निर्णय गरेको छ।

निर्णयमा भनिएको छ, ‘मण्डनदेउपुर वडा १ का कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु पार्टी भित्रका अन्तरघाती र अपराधि व्यक्ति र प्रवृतिहरुलाई कारबाही नहुञ्जेलका लागि यस कार्य समिति निष्क्रिय हुने घोषणा गर्दछौँ।’
त्यस्तै बागमती प्रदेश प्रतिनिधिसमेत भएका नेता केशवप्रसाद तिमिल्सिनाले क्षेत्रीय सभापति महेश खरेलले अन्तरघात गरेको दाबी गर्दै उनीमाथि कारबाहीको काग गरेका छन्। तिमिल्सिनाले उनीमाथि कारबाहीको माग गर्दै राजीनामा दिएका छन्।
उनको राजीनामा पत्रमा भनिएको छ, ‘आसन्न निर्वाचनमामा पार्टीतर्फबाट प्रस्तुत उम्मेदवार र पार्टीलाई गरेको घातका सम्बन्धमा नेका केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिका बारेमा सुनियो र बुझियो। यो कुराको निर्क्योल नभएसम्मका लागि नेपाली कांग्रेसको विभिन्न पदमा बसेर काम गर्न नसकिने निष्कर्षमा पुगेकाले आजैका मितिबाट सबै पदबाट राजीनामा दिएको छु।’
त्यस्तै कांग्रेसका कार्यकर्ता निराजन लुईटेलले पनि क्षेत्रीय सभापति खरेललाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नैतिकता छ भने, काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नम्बर २ नेपाली कांग्रेसको विभिन्न टाउके पदमा जिम्मेवारी बहन गरी बसेका हरुले राजीनामा दिँदा राम्रो होला। यो सुझाव मात्र हो। आगे हजुरहरुको मर्जी।’
अर्का कांग्रेसका कार्यकर्ता राजन पौडेलले आफ्नो क्षेत्रका उम्मेदवारलाई पराजित गर्न लाग्नेहरु नै अर्को ठाउँकाले जितेकोमा बधाई दिएर ‘खासी पल्टेको’ भन्दै व्यंग्य गरेका छन्।
उनले भने, ‘आफ्नु मताधिकार भएको वा आफूले नेतृत्व गरेको ठाउँमा पार्टीको उमेदवारलाई जिताउन योगदान नगर्ने वा हराउँनतिर लाग्नेहरुले अरु क्षेत्रमा चुनाव जित्ने बित्तिकै खासी बनेर गुलामी गरेको देख्दा के भनौं र खै।’

