काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले यही असोज १९ गते सोमबारदेखि सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू बन्द गर्ने निर्णय गरेको छ । बजारमा चुलिएको मूल्यवृद्धि, इन्धन तथा प्रविधिसम्बन्धी उपकरणको मूल्यमा भएको वृद्धि र बढ्दो सञ्चालन खर्चका कारण हाल उपलब्ध सुपथ र न्यून स्पिडका प्याकेजहरू निरन्तरता दिन असमर्थ भएको आइस्पानले जनाएको हो ।
आइस्पानका अनुसार पछिल्ला वर्षहरूमा बढेको निरन्तर मूल्यवृद्धि र आर्थिक चुनौतीहरूले गर्दा इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरूलाई सेवा सञ्चालन गर्नै कठिन स्थिति सिर्जना भएको छ । विशेष गरी मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्य वृद्धि हुनु, बजारमा फाइबरको मूल्य आकाशिनु र अत्यधिक मुद्रास्फीतिको सामना गर्नु परेकाले सञ्चालन लागत ह्वात्तै बढेको आइस्पानको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र वृद्धिका कारण इलेक्ट्रोनिक सामान तथा चिपसेटको मूल्य एक्कासि महँगिएको र यसले आइएसपीहरूको सञ्चालनमा थप भार पारेको संघको भनाइ छ । यी विविध प्रतिकूल कारण र परिस्थितिले गर्दा सेवा प्रदायकहरूले सुपथ मूल्य र कम स्पिडका प्याकेजहरू ग्राहकलाई निरन्तर उपलब्ध गराउन नसक्ने निर्णयमा पुगेको बताइएको छ । यस निर्णयबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति आइस्पानले क्षमायाचना समेत गरेको छ ।
आइस्पानले विगत १२ वर्षमा यस क्षेत्रमा गर्व गर्न लायक प्रगति भएको दाबी गरेको छ । फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचका आधारमा नेपाल दक्षिण एसियामै पहिलो नम्बरमा रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै, नेपालको इन्टरनेट विश्वकै सस्तोमध्येको एक रहेको दाबी गर्दै सङ्घले अधिकांश घरदैलोसम्म यो सेवा पुग्न सफल भएको र सेवा प्रदायकहरूले सकेसम्म सुपथ मूल्यमा सेवा प्रवाह गर्दै जसोतसो गुजारा चलाइरहेको बताएको छ । कोरोना महामारीको कठिन समयदेखि भोटेकोशीको बाढीजस्ता प्राकृतिक विपद्का बेला पनि आइएसपीहरूले निरन्तर अत्यावश्यक इन्टरनेट सेवा प्रदान गरिरहेको स्मरण गराउँदै डिजिटल नेपालको सपनालाई सार्थक बनाउन अहोरात्र खटिएका सेवा प्रदायकका सम्पूर्ण कर्मचारीहरूप्रति संघले धन्यवाद व्यक्त गरेको छ ।
आइस्पानले सम्पूर्ण सदस्य आइएसपीहरूलाई अझै गुणस्तरीय सेवा प्रदान गर्दै डिजिटल नेपालको सपना साकार पार्ने अभियानमा निरन्तर लागिरहन निर्देशन पनि दिएको छ । साथै, सबै सेवा प्रदायकले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दर/रेट अनुसारको मूल्य विवरण आफ्नो वेबसाइटमा सजिलै देखिने गरी राख्न आग्रह गरेको छ ।
यसैगरी, संघले सम्पूर्ण ग्राहक महानुभावहरूलाई इन्टरनेट सेवाको भुक्तानी गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न अनुरोध गरेको छ ।


