२३ असोज, काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) ले आईसीसीबाट आधिकारिक टी-२० मान्यता पाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको जानकारी दिएको हो ।
यसअघिका दुई संस्करणमा आईसीसीले एनपीएललाई मान्यता दिएको थिएन ।
मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन् ।
यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा ४ खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति मात्र दिएको थियो ।
अब भने फ्रेन्चाइजले अनुबन्ध गर्ने विदेशी खेलाडीको संख्यामा कुनै सीमा लाग्ने छैन ।
एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सञ्चालन हुनेछ । लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

