देशलाइ किन दुख्दैन ? (कविता)
–रामशरण गैरे
हरेक दिन मेरो देशको
एयरपोर्टमा
आँशुको धारा वगेको देख्छु ।
देखिन्छ मन कुँडिने दृश्य दिनहुँ
लामबध्द युवाहरू
भिसा लिएर हात हातमा
भाग्य जाँच्न विदेश झर्छन्
जोखिम मोलेर
भविष्य कोर्न व्याकुल छन् ।
एकलव्य झै बनेर
वियोगका आँशु पुछिएका छैनन्
खादाका पत्रले
रोएका मन छोपिएका छैनन्
मालाका खातले
दुख पढ्न सकिन्छ
उदास ती आँखाहरूमा
मुटु दनदनी जलेको
बिम्ब देखिन्छ मुहारमा
…….
आफ्नो प्यारो गाँउघर छोडेर
मलिन अनुहार लिएर
खादा, टिका र माला लगाएकाहरू
विदेशिनु पर्दाको दुखका आँशु
प्यारो मान्छे विछोडिँदा
जहान बच्चाको पिडाँका आँशु
. . . . .
आउनेहरूले आँफ्नो भुमी
टेक्ने पाउदा वगेका हर्षका आँशु
धेरै पछी भेट हुदा अंकमाल गर्दै
कुरिबस्नेका खसेका आँशु
. . . . .
हरेक दिन पखालेको छ एयरपोर्ट
हरेक दिन खस्ने बाकसहरूका
निःशब्द आफन्तका आँशुले
सधै गुञ्जन्छन चित्कार र रोदन
पराइ भूमिबाटआयको बाकस भित्र
तुहिएको सपना चुहिएको विपना छ।
…
त्यहाँ भित्र
जवानी मै मरेको
पसिनाको आश छ
आशा आफू भित्रै लुकाएर
मातृभूमिमा शरणागत हुन आएको
एक धरती पुत्रको लाश हुन्छ।
अर्धाङ्गिनीको कारुणिक चित्कार
………
अनी चित्कार भित्र
दुखान्त आवेगको प्रवेग
कारुणिक चित्कारको गहिराइमा
ह्वार–ह्वार्ती जल्दै गरेको
नाबालक सन्तानहरुको भविष्य
……….
परिवार सँगसँगै बस्ने इच्छा
कसलाई हुँदैन होला र !
अनिश्चयको विदेश पलायन
कसलाई रहर होला र !
धमाधम बाँझो पल्टदै छन्।
………..
गाउँघरका खेतबारी
वृध्दाश्रममा रुपान्तरित भए
बस्ती सबै वारिपारि
सन्नाटामय भयो समाज,
छैन ऊर्जा कान्ति
विकासका उपभोक्ता खै ?
कहाँ छ जीवन गति ?
छन् विकास पूर्वाधार
सडक स्कुल कलेज आदि
छैनन् गाउँमा युवा,
घट्दैछन् धमाधम विद्यार्थी
पढाउनु पर्दैन शिक्षकलाई पनी
अब पुरै फुर्सद छ।
………..
खेतालो खोज्नु पर्दैन
राजनीतिको मेलो सर्दैछ
स्थानीय उत्पादन शून्य छ,
निर्भरता भो बजारको
हरायो उद्यमशिलता,
बढ्यो उपभोग आयातित बस्तुको
जसरी अस्वस्थ राजनीतिको
ग्राफ छ उकालो चढेको
विवश बनेर देशले,
यी सबै क्रियाकर्म छ भोगेको
‘नेताहरू’ विप्रेषण बढेकोमा खुशी छन्
……….
यसरी आउँछ रे देशमा ‘समृध्दी’
चिन्तनको खडेरीले ल्यायो
समाजमा निराशाको आँधी
त्यै आँधीमा लपेटिएका हुन्
तमाम हाम्रा युवा युवती तर पनी
यो देशलाइ किन दुख्दैन?
रेमिट्यान्समा रमाएको
यो निर्लज्ज सत्तालाइ ।
ऊआफ्नै नागरिकहरुलाई
विदेशी श्रमबजारमा पठाउँछ
अनि हर्षोल्लास साथ
देशमुक्तिको उत्सव मनाउँछ
बिदाइ गर्छ भिराएर
मुटुभरि उल्लास र आशाको माला
अनि गलाभरि फूलमाला
…………
अनायास !
एक्लै फर्केर जब ऊ
काठको बाकसमा आउँछ
उसको लाश देशलाई खपिनसक्नु गन्हाउँछ
उसको स्वागतार्थ
एयरपोर्टमा देश उपस्थित हुँदैन
उसको मृत्युले देशलाई
कहीँ कतै छुँदैन
. . . .
म आफÞैँ पनि त,
दिक्क लागेर नै बिदेसिएको हो नी
खानै नपाएर होइन
यो वेतिथीले गरिखान नदिएर
देश छोड् वाध्य भए म पनी ।
कसलाई मन हुन्छ र
पराई देशमा पसिना बगाउन
को चाहन्छ र आफन्तहरूबाट टाढा बस्न
तर, के गरेर वस्ने हो र यहाँ?
र म देश छोडेर हिँडेँका युवाहरू ।
हो,अझ बढी सताउँछ भूगोलले
झन पिरोल्छ सम्झनाले
यहाँ पनि घरि घरि
अनिश्चितताका पर्खालहरू ठडिन्छ्न्
अन्यौलका बाटाहरू पसारिन्छ्न्
तर त्यहा जस्तो
खुट्टा तान्दैनन् यिनीहरूले
अझ वास्तै गर्दैनन यिनले त
र पो आभाष हुन्छ त
आफ्नो देशमा नभएको।
भरतपुर–१९,चितवन

