सत्तारुढ दल कांग्रेस सांसद डा. शशांक काइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णय बारम्बार भनिरहेको उनको भनाइ थियो।
सांसद कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुईमत नरहेको दाबीसमेत गरे।
उनले प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग शुक्रबार भने, ‘एमसीसी नेपालका लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छे उभिरहेका छन्, हाम्रो अस्तित्व नै डामाडोल हुन्छ, अमेरिकी सेना यहाँ आउँछन्, धेरै कुरा छन्, ९ वटा मुलुकमा एमसीसी जुन चलिरहेको छ, त्यसमा त कहीँ सेना परिचालन भएका छैनन्। त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ। शेरबहादुरजीको अगाडि दुई उपाय छन्। एउटा एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो। यो अप्सन उहाँले नै रोज्नुपर्छ। उहाँले कुन रोज्नुहुन्छ? एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म। गठबन्धनलाई राख्ने हो भने एमसीसी छाड्नुपर्छ। दुईमध्ये एउटा मात्रै हुन सक्छ भन्ने मलाई लागेको छ। एमसीसी पारित गरौँ भन्ने मेरो सल्लाह हो। किनभने ५ सय मिलियन डलर धेरै हो। यसले ट्रान्समिसन लाइनदेखि बाटोसम्मको यत्रो ठूलो अनुदान हतपत्ति कसैले दिँदैन। यसको पछि उनीहरूको कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ।’
सांसद कोइरालाले अमेरिकाले दिने एमसीसी परियोजनाको सहयोग आजसम्म कुनै देशले नदिएको र यसमा अमेरिकाको कुनै स्वार्थ नरहेको समेत दाबी गरेका थिए।

