११ फागुन, काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए ।
श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उनी बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध गएका थिए । आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए ।
प्रहरीका अनुसार ६६ वर्षिय लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो।
प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध गएका थिए। उनी बिहान आफ्नै घर अगाडि मृत फेला परेका हुन्।
‘राति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।
‘बिहान ७ बजेर ५ मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं. को मारूती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा लामा मृत फेला परेका हुन्’, सूचना अधिकारी प्रनाउ राजु पाण्डेले बताए।
पाण्डेका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन्।
‘घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने सुनेका थिए। तर राति उठेर हेरेका रहेनछन्। उहाँ लडेको बिहान मात्रै थाहा भएको हो। एउटा खुट्टा कारमा थियो। जिउँ भुइँमा लडिरहेको थियो। अल्झिए जस्तो देखिन्छ। टाउकोमा चोट लागेको देखिन्छ,’ प्रनाउ पाण्डेले भने।
प्रनाउ पाण्डेका अनुसार अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए।
लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।
एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।
पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।