लामो समयको प्रतिक्षा पछि नेपाली कांग्रेस चितवन जिल्लाको अधिवेशन फाल्गुन १९ र २० गते नारायणी कला मन्दिरमा सम्पन्न भएको छ। आगामी ५ वर्षका लागि राजेश्वर खनालको नेतृत्वमा नयाँ कार्यसमितिको गठन भईरहेको छ। सभापति देखि लिएर सह सचिवको मतगणना सम्म आइपुग्दा पुरुषको मात्र एकछत्र राज देखिएको छ। अझैपनि अन्य विधाका सदस्यहरुको मतगणना भने नारायणगढ स्थित कांग्रेस पार्टी कार्यालयमा जारि छ।
नेपाली कांग्रेसको २९४५ प्रतिनिधिहरुको भोटका आधारमा सर्वाधिक मत ल्याउन सफल राजेश्वर खनाल सर्वसम्मत रुपमा सभापति हुनुभएको थियो। सभापतिको प्रतिस्पर्धामा ५ जना पुरुष क्रमश: राजेश्वर खनाल, प्रा डा सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी र मिलन बाबु श्रेष्ठले उम्मेद्वारी दिनुभएको थियो। यो उम्मेद्वारीको नाम क्रमबाटनै प्रस्तुत हुन्छ कि चितवन जिल्लाका कांग्रेसी महिला नेतृहरु जिल्लाको सभापतिमा आउन खोजिरहेका छैनन् वा अन्य केहि कारणले सभापति बन्न खोजिरहेका छैनन्। त्यसरिनै जिल्लाका अन्य पदाधिकारीमा जस्तै उपसभापति र सचिव जस्ता कार्यकारी तहमा महिलाको उम्मेद्वारी नहुनु चितवन कांग्रेसको लागि पक्कै पनि सुखद पक्ष मान्न सकिन्न।
तर यहाँ सह-सचिवको लागि उम्मेद्वारी दिनुभएकी बिनिता चापागाईं हार्नुले भने चितवनका कांग्रेसी प्रतिनिधिहरुको द्वेष चरित्र देखिएको छ। जम्मा २ जनाको लागि १० जनाको उम्मेद्वारी परेको थियो जसमा एकमात्र महिला उम्मेद्वार थिइन्, नेतृ बिनिता चापागाईं। क्षेत्रीय प्रतिनिधिमा पनि कम्तिमा एक तिहाई महिलाको सहभागिता हुनुपर्ने नेपाली कांग्रेसको पार्टी विधानमा उल्लेख गरिएको छ। त्यसकै आधारमा झन्डै १००० जना महिला प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी भएका थिए। तर महिला प्रतिनिधिहरुको असहयोगका कारण नै आज सह-सचिवमा पनि पुरुषनै हावी भएका छन् र आज फेरी एक महिला नेतृले कांग्रेस चितवनको कार्यसमितिमा बसेर काम गर्न ५ वर्ष कुर्नुपर्ने भएको छ। दुई जनाको लागि एक पुरुष र एक महिलाको लागि मतदान गर्न सकेको खण्डमा सह-अस्तित्व पनि हुने थियो र महिलाका गुनासाहरु पनि सहज रुपमा उठ्न सहयोग पुग्ने थियो तर नेपाली कांग्रेस चितवनका महिला प्रतिनिधिहरुले त्यो आवस्यकताको महसुस गरेनन् अन्तत दुवै जना पुरुष विजयी भए।
पछिल्लो समय नेपाली कांग्रेसमा युवा नेताहरुको आकर्षण बढेको स्थानीय वडा अधिवेशन र केन्द्रिय महाधिवेशनबाट नै प्रमाणित भएको छ। पुराना नेताहरुलाई पाखा लगाउँदै नयाँ र नविन सोचका युवाहरु नेतृत्व तहमा आउँदा चितवन कांग्रेसको अधिवेशनमा भने केहि खड्किएको महसुस भएको छ। सभापतिमा युवाहरुको उम्मेद्वारी नपर्नु र अन्य पदाधिकारीमा पनि उल्लेखीय मत न-आउनुमा चितवन कांग्रेसका प्रतिनिधिहरुमा अझै युवा नेतृत्व प्रति विश्वास नभएको हो कि भन्ने देखिएको छ।
अन्तमा आज नारी दिवस, सामाजिक र राजनीतिक क्षेत्रमा समावेसी र सह-अस्तित्वलाई कायम राख्नको लागि उत्तिकै सहभागिताको आवश्यकता पर्दछ। नेपाली कांग्रेस चितवनको सन्दर्भमा भने महिला सहभागिता केहि हद सम्म न्युन देखिएको छ र आगामी दिनमा अब आउने नेतृत्वले यो विषयमा विशेष ध्यान दिनेछ, फेरी पनि नारी दिवसको सबैमा शुभकामना !!!


