भरतपुर – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम छिट्टै सरकारले अघि बढाउने बताएकी छन् ।
भरतपुर १९ शारदानगरमा सुरू भएको दोस्रो राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन समारोहमा बोल्दै मेयर दाहालले यस्तो बताएकी हुन् । उनले रंगशाला निर्माणको कामलाई महानगरले प्राथमिकतामा राखेको बताईन् ।
‘अहिले अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम महानगरको प्राथमिकतामा भएको कारणले अन्य खेल मैदानको काम द्रुत गतिमा अघि बढाउन सकेका छैनौं । तर पनि हामीले प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेर कामलाई निरन्तरता दिइरहेका छौं’, उनले भनिन् ।
उनले रंगशाला बारे छिट्टै खुशीको खबर सुन्न पाइने समेत बताईन् ।’रंगशालाको काम सरकारले अघि बढाउँछ । खुशीको कुरा छिट्टै सुन्न पाउनेछौं’, उनले भनिन् । उनले महानगरले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको दाबी गरिन् ।
भरतपुर खेलकुदको हबको रुपमा बिकास भइरहेको उनको भनाइ थियो । ‘महानगरले खेलकुदका क्षेत्रमा प्राथमिकताका साथ योजना, बजेट र खेलकुद प्रतियोगिताहरु गरिरहेको छ । केही दिनमा राष्ट्रियस्तरको साइकिलिङ प्रतियोगिता गर्दैछौं, उनले भनिन्, खेलकुदको हबको रुपमा महानगरपालिका बिकास भइरहेको छ ।’ यस्तै उनले भरतपुर २० भिमनगरमा फुटबल रंगशालाको काम पनि तिव्र गतिमा अघि बढीरहेको बताईन् ।

