नेपाल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध पहिले ब्याटिंग गरेको नेपालले राम्रो स्कोर खडा गर्दै पपुवा न्युगिनीलाई १८४ रनको लक्ष दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको हो ।
नेपालका ओपनर आसिफ शेखले ३५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । इनिङको पहिलो बलमै छक्का प्रहार गरेका कुशल दोस्रो बलमा रन आउटबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा चाद सोपरबाट रन आउटकै सिकार बने ।
रोहितले ब्यक्तिगत २९ रनमा स्लिपमा क्याच ड्रप हुँदा जीवनदान पाए । दास्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गर्दै इनिङ उकासे । आसिफ तीव्र गतिका बलर एली नाओको बलमा एज लागेर विकेटकिपर शिमोन आतीबाट क्याच हुँदा दोस्रो अर्धशतक बनाउन ७ रनले चुके । त्यसपछि भने लगातार विकेट गुमाएको थियो ।
१३ औं ओभरको पहिलो बलमा रोहित चाद सोपरको बलमा विकेटकिपर बाटै ३४ रनमा आउट भए । २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको पहिलो बलमा स्विच हिट सट खेलेका दीपेन्द्र असाद भालाबाट ४ रनमा क्याच भए ।
बायाँ हाते अलराउन्डर कुशल मल्ल ११ रनमा हाइली हेकुरेको बलमा बोल्ड भए । उनले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । करण ७ बलमा २ छक्कासहित १४ रनमा क्याच आउट भए । आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।
पपुवा न्युगिनीका एली नाओ, चाद सोपर र चाल्र्स अमिनीले २–२ विकेट लिए । नर्मन भानुआ, चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए ।