रत्ननगर । चितवनको रत्ननगर नगरपालिका को मेयर पदमा दुई दर्जन नेताहरु आकाङ्क्षी देखिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, एमाले र समाजवादीबाट डेढ दर्जन नेताहरुले मेयरका लागि आकाङ्क्षा व्यक्त गरेका हुन् । माओवादी केन्द्रका नेताहरुले भने अहिलेसम्म इच्छा प्रकट गरेका छैनन् । नेपाली कांग्रेसबाट १४ जना, नेकपा एमालेबाट सात जना र एकीकृत समाजवादीबाट तीन जनाले मेयरमा लड्ने इच्छा व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसबाट वर्तमान नगरसभापति प्रल्हाद सापकोटा, जिल्ला सचिव सूर्य अर्याल, निवर्तमान सभापति रुपनराज घिमिरे, महाधिवेशन प्रतिनिधिहरु माधव अर्याल, भेषराज दुवाडी, बासुदेव ढुङ्गाना, राममणि खनाल, क्षेत्रीय सचिव उमेश गिरी, प्रदेश समिति सदस्य महेशप्रसाद रौनियारले मेयरका लागि आकाङ्क्षा व्यक्त गरेका छन् ।
त्यसैगरी, कांग्रेसबाटै कांग्रेसका पुराना नेताहरु रामकुमार अर्याल र हरिभक्त घिमिरे, प्रदेश ‘ख’ सभापति गोविन्द गौतम, महाधिवेशन प्रतिनिधि दिवाकर अर्याल, महाधिवेशन प्रतिनिधि तथा निवर्तमान जिल्ला प्रवक्ता निता ढकाल, महाधिवेशन प्रतिनिधि गीता देवकोटाले इच्छा देखाएका हुन् ।
कांग्रेसबाट आकाङ्क्षी १४ नेताहरुमध्ये नगर सभापति सापकोटा, निवर्तमान सभापति घिमिरे, महाधिवेशन प्रतिनिधि अर्याल र पर्यटन व्यवसायीसमेत रहेका महाधिवेशन प्रतिनिधि ढुङ्गाना र अर्का कांगे्रसका महाधिवेशन प्रतिनिधि भेषराज दुवाडीको नाम पनि अहिले चर्चामा छ ।
यता, रत्ननगर नगरपालिकामा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेबाट ६ जनाले आकाङ्क्षा व्यक्त गरेका छन् भने वर्तमान मेयर नारायण वनलाई पार्टीले नै अघि सार्ने सम्भावना देखिएको छ । सो पार्टीबाट मेयरमा वर्तमान उपमेयर विमला दुवाडी, प्रदेश कमिटी सदस्यहरु प्रेमनाथ दुवाडी, राजाराम रेग्मी, क्षेत्रीय संयोजक यादव पाठक, जिल्ला सहसचिव चन्द्रकान्त न्यौपाने, जिल्ला सदस्य केशव आचार्य र वर्तमान नगर सभापति ईश्वरीप्रसाद अर्यालले इच्छा प्रकट गरेका छन् ।
एमालेबाट अन्य ६ जना आकाङ्क्षीमध्ये मेयर वन बलियो उमेदवार हुन् । कांग्रेससहित अन्य दलहरुको गठबन्धन हुने अवस्था आए एमालेले वनलाई नै अघि सार्ने सम्भावना बलियो देखिएको छ । उपमेयर दुवाडीको नाम पनि मेयर पदका लागि चर्चामा छ । उनले मेयर पदमा लड्ने इच्छा व्यक्त गरेकी छन् ।
समाजवादीबाट तीन जना आकाङ्क्षी देखिएका छन् भने एकीकृत समाजवादीका नेताहरुले गठबन्धनका कारण अहिलेसम्म इच्छा प्रकट गर्नसमेत सकेका छैनन् । समाजवादीबाट मेयरमा जिल्ला कमिटी सचिव कुलप्रसाद लामिछाने, जिल्ला सदस्य हरिकुमार श्रेष्ठ र नगर अध्यक्ष बद्रिनाथ घिमिरेले इच्छा देखाएका छन् । गठबन्धन हुने अवस्था आए कांग्रेसलाई मेयर, समाजवादीलाई उपमेयर र माओवादीलाई वडाध्यक्ष दिने गरी पूर्वसहमति भइसकेको श्रोतले जनाएको छ ।
माओवादी केन्द्रका नगर इन्चार्ज राजु अम्गाईं सुबोधले गठबन्धन नहुने अवस्था सृजना भए मेयर/उपमेयरसहित वडाध्यक्षहरुमा उमेदवारी दिने र गठबन्धन भए पार्टीको निर्णयअनुसार नेताहरुलाई जिम्मेवारीमा पठाउने योजना रहेको बताए ।
राप्रपाका जिल्ला सदस्य तथा केन्द्रीय प्रतिनिधि हरि अधिकारीले रत्ननगरको मेयर, उपमेयरसहित वडाध्यक्ष तथा वडा सदस्यहरुमा उमेदवारी दिने बताए । उनले अवस्थाअनुसार अन्य दलहरुसँग गठबन्धन गर्ने तयारी भइरहेको उनले बताए ।

