चितवन, माघ १२–
चितवनमा कोरोना विरुद्वको खोप माघ २० गते बाट लगाउन सुरु हुने भएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना भाइरस विरुद्वको खोप आइपुगेपछि माघ २० गते बाट लगाउन सुरु गरिने भएको हो ।
पहिलो चरणमा चितवनमा सात हजार कोरोना खोप ल्याइने भएको छ । हाल चितवनमा खोप राख्ने व्यवस्थित मापदण्ड पूरा नभएको कारण खोप आउन ढिलाइ भएको कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए । खोप कहाँ राख्ने, कतिसम्म खोप ल्याउने भन्ने कुराको निर्णय नभएकाले खोप तत्काल नै ल्याइहाल्न हतार नगरिएको तिवारीले बताए । खोप लगाइदिने स्वास्थ्यकर्मीलाई पनि तालिम दिन बाँकी रहेको उनले बताए । तिवारीले भने, ‘खोपका लागि स्वास्थ्यकर्मी तयार भए खोप आउन धेरै समय लाग्दैन ।’
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शब व्यवस्थापक गर्ने टोली, महिला स्वयम्सेविका, फोहोर व्यवस्थापक, एम्बुलेन्स चालकलाई कोरोना विरुद्धको खोप लगाइने तिवारीले बताए । तिवारीका अनुसार दोस्रो चरणमा आएको खोप मात्रै सर्वसाधारणमाझ पु¥याइनेछ । प्रदेशमा आउनेबित्तिकै चितवनमा आउन धेरै समय नलाग्ने उनले बताए । तिवारीले जनस्वास्थ्य कार्यालयमा खोप राख्न कोल्ड स्टोर र अन्य सामग्री राख्न तीन वटा कोठा तयारी अवस्थामा रहेको जानकारी दिए ।
पहिलो चरणमा चितवनका तीन सरकारी अस्पतालमा खोप वितरण गरिनेछ । जसमा भरतपुर सरकारी अस्पताल, माडी सरकारी अस्पताल र रत्ननगर नगरपालिकाको बकुलर अस्पताल पर्न सक्ने तिवारीले जानकारी दिए । आज जिल्ला प्रशासन कार्यालय चितवनमा खोप व्यवस्थापन सम्बन्धी छलफल भएको थियो । प्रशासन प्रमुख नारायणप्रसाद भट्टराईका अनुसार वाग्मती प्रदेशमा दुई दिन भित्र खोप आइपुग्नेछ छ । चितवनमा पनि छिट्टै खोप वितरण गरिने भट्टराईले बताए । चितवनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।