काठमाडौँ, साउन ५: भोलि साउन ६ गते हुन गैरहेको नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ |
सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिनुभयो ।
युनियनको साउन ६ र ७ गते हेटौँडामा सञ्चालन हुने महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारीले बताउनुभएको छ ।
उहाँका अनुसार सोही महाधिवेशनबाट नेपाल प्रेस युनियनको आगामी नयाँ नेतृत्व पनि निर्वाचित हुने कार्यसूची रहेको छ । उक्त महाधिवेशनमा सहभागी हुन आउनुभएका प्रतिनिधिलाई बागमती प्रदेशको राजधानी हेटौँडाका अतिरिक्त चितवनको सौराहा र बाराको अम्लेखगञ्जस्थितका होटलमा राख्ने प्रबन्ध र आवतजावतको लागि यातायातको सुविधा उपलब्ध गराइएको महाधिवेशन आयोजक आवास समितिका संयोजक रुपेश दुलालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भोलि हुने भ्रमणको कार्यक्रमलाई सफल तुल्याउन सुरक्षा निकायले आवश्यक तयारी पूरा गरिसकेका र स्थानीय बजारमा यातायात सञ्चालनको लागि वैकल्पिक मार्गको व्यवस्थापन मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभएको छ । रासस