चितवनमा भएको रगत अभावलाई ध्यानमा राखी पश्चिम चितवन पत्रकार मञ्चले रक्तदान कार्यक्रम गर्ने भएको छ । शनिवार सम्पन्न मञ्चको सचिवालय बैठकले साउन २८ गते रामपुर बजारमा रक्तदान कार्यक्रम गर्ने तयारी गरेको हो ।
मञ्चका अध्यक्ष अपिल घिमिरेका अनुसार मेडिकल सिटि भन्ने गरिएको चितवनमा बर्षा र गर्मीका कारण रक्तदान क्याम्प आयोजना हुन नसकेको र भएपनि दाताहरुको कम उपस्थिति भएको अवस्थामा रक्तदान कार्यक्रम गर्न लागिएको बताए । रगत अभाव भएपछि चितवनमा अहिले बाहिरी जिल्लाबाट रगत ल्याउनु पर्ने बाध्यता रहेको छ ।
यस्तै बैठकले आउँदै गरेको हरितालिका तीजको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । भदौ ११ गते महिला पत्रकार र भरतपुर महानगरपालिका वडा नम्बर २८ का दलित, जनजाति, आदिवासी संस्थाका नेतृत्वमा रहेका अगुवा महिला र सो वडाका महिला जनप्रतिनिधिसँग तीज पर्वको महत्त्व विषयमा अन्तरक्रिया तथा दरखाने कार्यक्रम आयोजना गर्न लागेको मञ्चको महिला सशक्तिकरण उपसमितिकी सविता अधिकारीले जानकारी दिईन् ।
मञ्चमार्फत पश्चिम चितवनको पत्रकारिताको इतिहास समेटिएको पुस्तक प्रकाशनको पनि तयारी हुँदैछ । प्रतिवेदन लेखन उपसमितिका संयोजक रामशरण गैरेका अनुसार मञ्चमार्फत अहिले पुराना पत्रकारको खोजी र इतिहास खोजीको काम हुँदैछ ।
यस्तै पश्चिम चितवन पत्रकार मञ्चले सदस्य बन्ने चाहना भएका पत्रकारहरुका लागि सदस्यता पनि खुलाएको छ । पश्चिम चितवन घर भएका वा पश्चिम चितवनमा रहेका मिडियामा काम गरेका पत्रकारहरुले मञ्चको सदस्य बन्न पाउने छन् । पश्चिम चितवनका पत्रकारहरु एकता र क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले स्थापना गरिएको यसै क्षेत्रका पत्रकारहरुको यो साझा संस्था हो ।
फोटो श्रोत : रामशरण गैरे