केही दिन अघि मात्र अमेरिकी प्रतिनिधिसभा की सभामुख न्यान्सी पेलेसीले हिन्द प्रशान्त क्षेत्रमा अवस्थित ताइवान टापुको भ्रमण गरीन्। यो भ्रमण छोटो भएपनि यसले चीन र अमेरिका बीच राजनैतिक तनाव उत्पन्न गराएको छ। रुस र युक्रेन जस्तै ताइवान र चीन पनि आमनेसामने आउने हुन् कि भन्ने डर विश्व जगतमा बढेको छ। चीनले पनि ताइवान नजिनै युद्ध अभ्यास गर्नु का साथै ताइवान बाट केही किमी नजिक मात्र क्षेप्यास्त्र प्रहार गरेको छ। साथै त्यस क्षेत्रमा चीनको सैन्य गतिविधिहरु पनि बाक्लिएको छ।
तर आखिर चीन र ताईवान बीच को तनाव के हो त? चीनले किन ताइवान लाई आफ्नो अभिन्न अंग मान्छ र किन चौध देशले मात्र ताइवान लाई देशको रुपमा मान्यता दिएका छन्? यी सबै प्रश्नको जवाफ जान्ने प्रयास गरौं।
करिव २००० वर्ष सम्म चीनमा साम्राज्यवादी राजवंशहरुले शासन गरे। सत्रौं शताब्दीमा चीनमा चिङ्ग वंशको उदय भयो। चिङ्ग वंशी शासकहरुले सन् १६४४ देखी सन् १९१२ सम्म चीनमा शासन गरे। सन् १९१२ मा यो वंश को पनि पतन भयो। चिङ्ग वंश पतन हुनुका थुप्रै कारण थिए जस्तै: केन्द्र कमजोर हुनु, आधुनिकरणमा जोड नदिनु, साम्राज्यवादी जापानको उदय र पश्चिममा साम्राज्यवादी शक्ति को प्रभाव चीनमा बढ्नु। त्यसपछि सन् १९११ अक्टोबरमा चीनमा भएको जीनाई क्रान्ति (Xinhai Revolution) पछि चीनमा गणतन्त्रको उदय भयो। ६ वर्षिय राजा पूयी (Puyi) को गद्दी छिनियो। चीनमा गणतन्त्र स्थापना हुँदा सैनिक प्रमुख युयान शिकाई थिए। आधुनिक चीनका पिता मानिने व्यक्ति हुन् डा. सन यात-सेन। यीनले सन् १९१२ मा कुओमिङ्गताङ (Kuomintang) नामक दलको स्थापना गरेका थिए। राजसंस्था फाल्न यी दुवै जनाको अहम भूमिका थियो। जीनाई क्रान्ति पछि युयान शिकाईले उत्तर बेइजिङमा शासन चलाए भने सन यात-सेनले दक्षिण नानकिङ मा छुट्टै शासन चलाए। पछि एकिकृत चीनको खातिर सन यात-सेनले आफ्नो शक्ति युयान शिकाईलाई हस्तान्तरण गरे। कुओमिङ्गताङ राष्ट्रवादी दल थियो। यो प्रजातन्त्रको पक्षधर थियो। राजसंस्था फालेर राष्ट्रपति बनेका युयान शिकाई विस्तारै तानाशाही बन्न थाले। उनले सन् १९१४ मा कुओमिङ्गताङमाथि प्रतिबन्ध लगाएर र सन् १९१५ मा आफैंलाई चीनको राजा घोषित गरे। तर त्यसको एक वर्षपछि सन् १९१६ मा नै यीनको निधन भयो। यीनको निधनपछि चीनमा शक्ति विभाजन भयो। विभिन्न क्षेत्रमा स-साना राज्यहरू खडा भए। रजौटाहरु ले मनमानी शासन गर्न थाले। सन् १९१६ देखी सन्१९२८ सम्म को समयलाई चीनमा वारलर्ड एरा (warlord era) भनिन्छ। कुओमिङ्गताङ माथि प्रतिबन्ध लागेपछि राष्ट्रवादी नेताहरु भागेर जापान पुगेका थिए।
सोभियत संघको सहयोगमा डा. सन यात-सेनले सैन्य बल खडा गरे। सन् १९२१ मा चीनमा कम्युनिष्ट पार्टीको पनि स्थापना भयो। डा. सन् यात-सेनले चीनको पुन: एकिकरण अभियान सुरु गरे। सन् १९२५ मा यीनको निधन भएपछि चियाङ्ग काई-शेक ले सैनिक नेतृत्व गरेर उत्तरी चीनको एकिकरण गरे। सन् १९२६ देखी १९२८ सम्ममा पुरै चीन एकिकृत भयो। चियाङ्ग काई-शेक कम्युनिष्ट विरोधी थिए। उनको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) सँग मतभेद बढ्यो। यसैका कारण सन् १९२७ बाट चीनमा गृहयुद्ध सुरु भयो। गृहयुद्ध राष्ट्रवादी कुओमिङ्गताङ र चीनी लाल सेना (कम्युनिष्टहरु) बीच सन् १९२७ बाट सन् १९४९ सम्म चलेको थियो।
डा. सन यात-सेन |