भनिन्छ, सपना देख्नेले नै त्यसलाई साकार पार्छ। ठुल्ठूला काम गरेर सबैलाई चकित पार्छ। चरा जस्तै उड्ने सपना देख्नेले हवाईजहाज बनाए। माछा जस्तै समुद्रको यात्रा गर्ने सपनाले पानीजहाज बन्यो। आफ्नो जीवन, समाज, शहरको रुपान्तरण गर्ने सपनाले ठुल्ठूला शहर, संरचना र आधुनिक संसार बन्यो।
यतिमै सीमित नभई मानिसहरू अहिले चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाल्ने सपना देखिरहेका छन्। यसमा हर्क साम्पाङ जस्ता साधारण मान्छेले धरान शहर र नेपाल बनाउने सपना देख्नु अनौठो होइन।
उनै हर्कले आफ्नो सपना साकार पार्न हर्क एक दशकअघि वैदेशिक रोजगारी छाडेर नेपाल फर्किएर धरानमा विकासका अभियान चलाउन थाले। दलगत राजनीतिले तहसनहस पारेको हाम्रो समाजमा एउटा साधारण भुइँमान्छेले विकास र परिवर्तनको प्रयास गर्नु बलियो पर्खाललाई टाउकोले फोड्नु जस्तै हो।
जुझारु स्वाभावका हर्क दिनहुँ धराने जनताको स-साना घरेलु समस्यादेखि नीति निर्माण तहकै मुद्दाहरूमा आवाज उठाइरहन्थे। धारापानी, बिजुली बत्ती, बाटोघाटो, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा उनी निरन्तर जनताको आवाज बनिरहे। त्यसैले उनी धरान र धरानबासीका हरेक समस्याबारे जानकार छन्।
अभियन्ताका रूपमा कराएर मात्रै समस्याको समाधान हुँदैन भनेर उनी २०७६ सालको उपनिर्वाचनमा मेयर पदमा उठे। तर त्यसबेला कांग्रेसका तिलक राई विजयी हुँदा उनले केवल ४२२ मत ल्याए। तर हरेस खाएनन्। बरु अभियानलाई निरन्तरता दिएर धरानको लागि जनसरकार नै भए।
जनता समस्या लिएर सम्बन्धित निकायमा नगई हर्ककहाँ धाउन थाले। फलस्वरूप २०७९ को स्थानीय निर्वाचनमा ठूला दलका उम्मेदवारलाई पछार्दै अप्रत्यासित रूपमा स्वतन्त्र हर्क मेयरमा विजयी भए।
जीतलगत्तै वाचाअनुसारको पहिलो मुद्दा धरानको खानेपानी संकट टार्न उनी आफैँ खोला खोल्सा धाउन थाले। गिट्टी ढुंगा फुटाउन थाले। पाइप बोक्न थाले, वृक्षारोपण गर्न थाले। हर्कको कामले विकासको लागि वर्षौँदेखि तड्पिरहेका धराने जनताको विकासको भावनामा आगो झोस्ने काम गर्यो। खोलामा जनताले हर्क सँगसँगै ढुंगा बोके, गिट्टी कुटे, बेल्चा हाने, अहिले पनि हानिरहेका छन्। बालुवा बोक्न थाले। फलस्वरूप एक महिनामै धराने जनताले आफ्नै श्रमदानबाट पानी ट्यांकी बनाए, पाइप बिछ्याए र उपभोक्ताको घरमा खानेपानी पुर्याए।
जनसहभागितामा विकास गर्ने हर्कको मोडल यति प्रभावकारी भयो कि देश विदेशका लाखौँ नेपालीका लागि उनी प्रेरणाको श्रोत बने। देशका विभिन्न ठाउँबाट श्रमदान गर्न धरानमा मानिसहरू आउन थाले। नाम चलेका कलाकार, खेलाडी, समाजसेवी र सांसद पनि श्रमदान गर्न धरान आए। यो जनलहर यसरी बढ्यो कि गत शनिबार ७ हजार हाराहारीमा मानिसहरू श्रमदान गर्न खोला पुगे। अहिलेसम्म ६० हजारभन्दा बढी वृक्षारोपण भइसक्यो। र, यो क्रम जारी छ।
विकासको आगो दन्किरहेको धरानमा हर्कले केही महत्वाकांक्षी योजना अघि सारेका छन्। खानेपानीको दीर्घकालीन आपूर्तिका लागि सप्तकोसीबाट ल्याउने उनको पहिलो योजना थियो। लगभग १५/१६ किलोमिटर पश्चिममा पर्ने कोसीको पानी धरान ल्याउन सके साँच्चै धरानमा यो समस्या सदालाई सकिन्छ।
साभार : मेरो साथि टिभी

