विनोद अधिकारी | भरतपुर
शैक्षिक परामर्श संस्था प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी चितवनले भरतपुरमा शैक्षिक मेला सम्पन्न गरेको छ । मंगलवार भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको ‘अष्ट्रेलिया उच्च शिक्षा मेला’ मा २२५भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुको लागि लक्षित गर्दै यो मेलाको आयोजना गरिएको हो ।
मेलामा सहभागी मनिता बुढाथोकीले मेलामा सहभागी भएर अष्ट्रेलियाका बारे कयौं भ्रम मेट्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले अष्ट्रेलियाको संस्कृति, कानून एवं पार्टटाइम जबका बारेमा जानकारी पाएको बताउनुभयो । प्रोफेसनल एजुकेशन कन्सलटेन्सी चितवनका प्रमुख सन्तोष खनालका अनुसार शैक्षिक मेलामा ११ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिले परामर्श दिएको र अन्य कलेजका प्रतिनिधि पनि सहभागी रहेको जानकारी दिनुभयो । विद्यार्थीहरुलाई सही परामर्श दिएर सही गन्तव्य छनौट गर्न सजिलो हुने हेतुले मेलाको आयोजना गरिएको प्रमुख खनालले बताउनुभयो ।
मेलामा उच्च शिक्षा अध्ययनको लागि डकुमेन्टेसन र मापदण्ड पूरा भएको खण्डमा स्पट एडमिसनसमेत गरिएको खनालले जानकारी दिनुभयो । शैक्षिक मेलामा विद्यार्थीलाई थप सेवा दिनुका साथै बैंक ऋणसम्बन्धी परामर्शसमेत दिईएको थियो । मेलामा २ बैंकका स्टलसमेत रहेका थिए । विद्यार्थीले बैंकका प्रतिनिधिसंँगै शैक्षिक ऋणका बारेमा प्रत्यक्षरुपमा परामर्श एवं जिज्ञासा राखेका थिए ।

