कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीयबाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले विद्युतीय सवारीसाधनको भन्सार घटे कर्मचारीलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले त्यस्ता सवारीको कर बढाइरहेको जिकिर गरे । सरकारले कर बढाएकै कारण विद्युतीय सवारीसाधन किनेर चढ्ने आफ्नो सपना पूरा हुन नसकेको उनको गुनासो थियो ।
घरमा पनि श्रीमतीले हरेक दिन ‘सरकारले भन्सार घटाएन ?’ भन्ने प्रश्न गरिरहेको भन्दै उनले व्यंग्य गरे ।
सरकारले विद्युतीय गाडीको भन्सार घटाई डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेकामा उनले जोड दिए । सार्वजनिक यातायात पूर्णतया विद्युतीयकरण भए मात्र खर्बौँ रकम विदेश जानबाट रोकिने उनको भनाइ छ ।
उनले विद्युतीय ऊर्जा बेचेर देशलाई समृद्धिको दिशामा अघि बढाउनेतर्फ जोड दिनुपर्ने पनि बताए ।
फरक प्रसंगमा उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्दा अहिले नेपालले विद्युत् बेचिरहेको भन्दै उनको काम प्रशंसायोग्य रहेको बताए ।
उनले विद्युत्को क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर तान्ने गरेको उल्लेख गरे । घिसिङलाई नेकपा (माओवादी केन्द्र)ले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै उनले ‘राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु’ भन्दै शुभकामना व्यक्त गरे ।
“कुलमान सरलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ । त्यसमा यति धेरै फिडब्याक आयो, उहाँजस्तो मानिस चाहिन्छ भनेर,” उनले भने, “राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।”

