यस महायुद्ध हुनुका धेरै कारणहरु छन्। उन्नाइसौं शताब्दीको अन्त्यतिर युरोपेली मुलुकहरु बीच भएको गुटबन्दी का कारण सैन्यवादको विस्तार भयो। देशहरु बीच शस्त्र-अस्त्रमा होडबाजी चलेको थियो। युरोपेली राष्ट्रहरुको साम्राज्यवादी सोच र उपनिवेशवाद ले पनि यस युद्धलाई मलजल गर्ने काम गर्यो। युरोपेली नागरिक हरुमा बढ्दो उग्रराष्ट्रवाद, पत्रपत्रिकामा छापिने गलत र भढ्किला समचारहरु पनि युद्धका कारण बने। साथै युद्ध रोक्न सक्ने एउटा प्रभावशाली संस्था नहुनु पनि यस महायुद्धको एक कारण हो। अन्य महत्वपूर्ण कारणहरु यस प्रकार छन्:
सन् १८७० सेप्टेम्बर १ मा जर्मनी र फ्रान्स बीच युद्ध भयो। यसलाई सेडानको युद्ध भनिन्छ। जर्मनीले फ्रान्सका दुई क्षेत्र एल्सेस र लोरेन आफु अधिनस्थ क्षेत्रमा गाभ्यो। जर्मन सम्राट विलियम प्रथमले जर्मनी को एकीकरण लाई मध्यनजर गर्दै ओटोभान बिस्मार्कलाई जर्मन चान्सलर नियुक्त गरेका थिए। उनै बिस्मार्कले जर्मनीको एकीकरण लाई तीब्र बनाएका थिए। फ्रान्स सँग युद्ध पछि जर्मनीले फ्रान्स लाई एक्ल्याउन थालेको थियो। यसका लागि उसले सन् १८७९ मा अष्ट्रिया-हंगेरी सँग सन्धी गर्यो। सन् १८८२ मा ईटाली पनि यो सन्धिमा जोडियो। यस सन्धिलाई त्रिगुट सन्धि (Triple Alliance) भनिन्छ। त्यसपछि सन् १८९४ फ्रान्स र रुसले सन्धि गरे। सन् १९०४ मा इङ्गल्यान्ड पनि यस सन्धिमा जोडियो। यस सन्धिलाई त्रिपक्षीय मैत्री राष्ट्र ( Triple Entente) भनिन्छ।
बाल्कन क्षेत्रमा ओटोमन साम्राज्य को शासन थियो। ओटोमन साम्राज्य विशाल थियो। यसमा मुसलमान खालिफा हरुको शासन थियो। वर्तमानका टर्की,रुस, युक्रेन, ग्रीस, ईटाली, हंगेरी, ईरान, ईराक, ईजिप्ट, ईजरायल, लिविया, मोरक्को, रोमानिया र जोर्डन देशका विभिन्न भागहरु ओटोमन साम्राज्य अन्तरगत पर्थे। सन् १९१२ मा रुसको उक्साहटमा लागेर सर्विया, बुल्गेरिया, ग्रीस र मोन्टेनेग्रो हरुले बाल्कन लिग (Balkan League) को गठन गरे। यसको उद्देश्य ओटोमन साम्राज्य बाट बाल्कन राष्ट्रहरुको स्वतन्त्रता थियो। रुस ओटोमन साम्राज्य बाट उत्तर म्यासेडोनिया चाहन्थ्यो। त्यसैले रुस र ओटोमन बीच दुश्मनी थियो। सन् १९१२ मा बालकन लिगले टर्कीको उत्तरी भागमा आक्रमण गर्यो। युद्धमा बाल्कन लिगले सफलता प्राप्त गर्यो, र बाल्कन देशहरु स्वतन्त्र भए। यस युद्ध पछि बाल्कन क्षेत्रमा नयाँ देशको जन्म भयो जसको नाम अल्बानिया थियो। यो प्रथम बाल्कन युद्ध हो। स्वतन्त्र भएपछि बाल्कन क्षेत्रका देशहरु बीच मनमुटाव सुरु हुन थाल्यो। बुल्गेरिया र सर्विया बीच सिमा विवादका कारण मनमुटाव सुरु भएको थियो। बुल्गेरिया लाई उक्साउन जर्मनी र अष्ट्रिया अगाडि आए। यही उक्साहटमा सन् १९१३ मा बुल्गेरियाले सर्विया माथि आक्रमण गर्यो। तर बुल्गेरिया पराजित भयो र सर्वियाले बुल्गेरिया कब्जा गर्यो।
बोस्निया र हर्जगोभिना मा सर्व समुदायहरुको बाहुल्यता रहेको थियो। त्यसैले यो देश सर्विया सँग मिस्सिन चाहन्थ्यो। तर सन् १९०८ को बर्लिन सम्मेलन ले यसलाई अष्ट्रियामा गाभेको थियो। त्यसैले बोस्निया-हर्जगोभिना का युवाहरुले ” द ब्ल्याक ह्याण्ड सोसाइटी” नामक संस्था खोलेर अष्ट्रिया-हंगेरी विरुद्ध विद्रोह सुरु गरेका थिए। यो संस्था लाई सर्वियाले सहयोग गरेको थियो। अष्ट्रियाका भावी राजा आर्क ड्युक फ्रान्सिस फर्डिनाण्ड र उनकी पत्नी सोफी चोटेकको बोस्निया को राजधानी सराजेभो मा हत्या गरियो। सन् १९१४ जुन २८ मा द ब्ल्याक ह्याण्ड सोसाइटी का ग्याव्रिलियो प्रिन्सिपे ले उनीहरुको गोली हानी हत्या गरेका थिए। यो हत्याकाण्ड पछि अष्ट्रियाका राजा फ्रान्सिस जोसेफ ले हत्याको छानबिन गरेर ब्ल्याक ह्याण्ड सोसाइटी लाई नियन्त्रणमा लिन २४ घण्टे अल्टिमेटम राखेर सर्विया पठाए। सर्बियाले अष्ट्रिया को कुरा अटेर गर्यो। यसको एक महिना पछि जुलाई २८ मा सर्बियाको राजधानीमा अष्ट्रियाले आक्रमण गर्यो। यो नै प्रथम विश्वयुद्धको तत्कालीन कारण बन्यो। प्रथम विश्वयुद्धमा दुई गुट बने। जर्मन नेतृत्व को केन्द्रिय शक्ति (Central Power) र बेलायत नेतृत्वको मित्र राष्ट्र (Alliance)।