संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराँतीले अहिलेको पर्यटन ऐनले कुनै लछारपाटो नलाउने बताएका छन्। ०३५ सालमा बनेको पर्यटन ऐन संशोधन गर्न आफू तत्पर रहेको उनको भनाइ छ।
पोखरामा शनिबार सुरु भएको होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशनमा मन्त्री किराँतीले भने, ‘म भन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु। यो पर्यटन ऐनले केही लछारपाटो लाउदैन। हामीलाई आजको समय सापेक्ष पर्यटन ऐन चाहिएको छ।’
उनले अगाडि थपे, ‘थुप्रै कुराहरुमा हामी सुधार त गर्दैछौं। तर, समग्रमा पर्यटनलाई एउटा उद्योगको रुपमा लाने उदेश्यले पर्यटन ऐन चेन्ज गर्न सकिएन भने पर्यटन प्रबद्र्धन गर्छु पर्यटनबाट विदेशी करेन्सी भित्राएर धनी हुन्छु भनेर मात्रै हुदैन। त्यो हावादारी फगत गफ हुनेछ। त्यस कारणले पर्यटन ऐन धेरै सच्याउनुछ।’
किराँतीले ठुला गफ छाँट्ने तर सिन्को नभाँच्ने मन्त्रीको प्रवृत्तिले देश विकास हुन नसेकेकोे बताएका छन्। ‘हाम्रो सानोबाट ठूलो लक्ष्य छ्रैन। धैरै मन्त्रीहरु आए, हुन त म सरकारको अविछिन्न अधिकारीको कुर्चीमा बसेको छु। यी सारा कुरालाई इग्नोर गरेर जाने कुरा होइन। तर, हामी ठूला कुरा गर्ने सानो काम नगर्ने बानी छ’, उनले भने।
आफ्नो कार्यकालमा २० वर्षका कार्यक्रम घोषणा गर्ने पक्षमा नरहेको मन्त्री किराँतीको दाबी छ। ‘म आजको कार्यक्रम घोषणा गर्नेवाला छु’, उनले भने, ‘आज राम्रो भयो भने २० वर्ष त्यसै राम्रो हुनेछ।’
अगाडि थप्दै मन्त्री किराँतीले भने, ‘आज वरको सिन्का पर पनि नसार्ने तर २० वर्ष २५ वर्षे कार्यक्रमको घोषणा गरेर लथालिंग गराउने हाम्रो बानी। यो बानीले हामीलाई अगाडि बढाउन सकेन।’
पोखराले पर्यटकलाई खानपानसँगै बसाइमा रैथानेपन दिन सक्नुपर्ने उनको तर्क छ। पोखरा भारत र चिन दुवैतर्फबाट नजिक भएकाले पर्यटनमा अथाहा सम्भावना बोकेको बताए। पोखरामा २ देशबीचको रणनीतिक प्रतिकुलमा वार्ता र राष्ट्रिय सम्झौता गर्न सकेमा आकर्षण छाउने उल्लेख गरे।
होटल व्यवासायीले २०३५ सालमा बनेको पर्यटन ऐनले समस्या परेको मन्त्री किराँतीलाई सुनाए। आर्थिक मन्दीले व्यापार ठप्प भएको बेलामा बैंकको चर्को ब्याजदरले पलायन अवस्थामा पुगेकाले ब्याजदरलाई एक अंकमा झार्न पहल गरिदिन व्यवसायीको माग छ।
गण्डकी प्रदेशका १५ होटल तथा रेन्टुरेन्टसँग सम्बन्धित संघसंस्था आबद्ध आइतबारसम्म चल्ने महासंघको महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

