एस.एल.सी. दिएको ३० वर्ष पछि मेरा सहपाठीसँग काठमाडौँमा हिँड्दा हिँड्दै सडकमा जम्का भेट हुन पुग्यो । २०४६ सालको आन्दोलनताका आठ कक्षामा पढ्दा हामीहरु आ–आफ्नो कित्ताबाट (ने.वि.संघ. र अनेरास्ववियु) सशक्त थियौँ । आफ्नो संगठनको विरुद्ध कसैले प्रश्न गर्याे या आरोप लगाएमा आफ्नो धैर्यलाई सम्हाल्न निक्कै कठिन हुन्थ्यो । कार्यकर्ताको आस्थाप्रतिको बफादारिता त्यो हदसम्म थियो । आफ्ना नेताहरुप्रति नदेखेरै कत्रो श्रदा थियो । त्यो समय त्यो क्षण त्यो धरातल कति सृजनाशील, आशलाग्दो र भरोसायोग्य थियो । अहिलेको वातारणमा हुर्किएका युवायुवतीले विश्वासै गर्न सक्ने कुरा थिएन । तर त्यो विश्वास र आस्था इतिहाँसको पानामा यसरी स्खलन हुँदै गयो की कांग्रेसको १४ औँ महाधिवेशनमा बोलाइएका पाउनामध्येका एक नेताले शुभकामना मन्तव्यमा भने “नेताहरु कोही गाउँ पसेभने आजका दिनमा जनताले सम्मान होइन बरु कुन चोर आएछ भन्छन ।” यस्तो प्रकारको स्खलन सायद यस हदसम्म नेपालमा अहिलेसम्म कहिल्यै भएको थिएन ।
जनताको नाममा, समाजको नाममा सेवा गर्छु भनेर टाउकोमा कफन बाँधेर हिँडेका अधिकांस नेताले राजनीतिलाई सेवाभन्दा पनि पेशा बनाएपछि जनताको आक्रोश चुलिनु स्वभाविक नै थियो । जनताले खोजेको थियो ः स्वतन्त्रता, आर्थिक उन्नति, सुरक्षा, दण्डहिनताको अन्त्य, कामको अवसर÷रोजगारी, जिम्मेवारी यिनै यिनै त कुरा हुन नेपाली जनताका माग तर ०४६ यता पनि धेरै राजनीतिक उथलपुथल भए जनताका नाममा, धेरै वादहरुका वकालत भए तर केही मुठीभर शासकहरुको जीवनमा आएको भौतिक परिवर्तन, आर्थिक उन्नतिबाहेक सर्वसाधारण नेपाली, तत्तत् पार्टीका इमान्दार कार्यकर्ताको जीवनमा भने कहि परिवर्तन आएन । अनुशासन प्रजातन्त्रको मेरुदण्ड हो तर आजको हाम्रो समाजमा कर्तव्यनिष्ठ र अनुशासित व्यक्तिलाई हाँसोको पात्र बनाइन्छ । इमान्दारीपूर्वक कमाइएको सम्पत्तिले परिवार धान्नै गाह्रो छ । बेइमानीपूर्वक कमाउन पल्लेकाहरुको रजगज छ । यस्तो भएपछि इमान्दारीताको कदर नहुने देशमा प्रतिभा पलायन हुन कुन आश्चर्यको कुरा हो र ? यहाँ एउटा यस्तो वर्ग सृजना भएको छ जुन वर्गले फाइदा बेगर कामै गर्दैन । त्यो वर्गले कर्मचारीलाई काम लगाउँछ, मन्त्रिलाई लगाउँछ, सांसदलाई लगाउँछ । सुरक्षा निकायलाई लगाउँछ र कमिसनमा मज्जाले खेल्छ र त रातारात धनाढ्य बन्छ र बनाउँछ केवल मुठीभरमा मानिसहरुलाई । त्यसको ज्वलन्त उदाहरण, नागरिकलाई अनागरिक बनाउने काण्ड, ललिता निवास काण्ड, सत्तरी करोड काण्ड, ….. काण्डै काण्ड ।
समाज सेवा गर्न प्राण आहुती दिन तयार नेताहरु आज यति विध्न नांगो देखिनु यो दु्रपद स्थिति हो । यसले २१ औँ शताब्दीको हाम्रो समाजले यमपुरीको यात्रा किन गर्दैछ ? यो प्रश्नको खोजी गर्नु सबैको दायित्व भएको छ ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु, खेतीपाती, जहाँ पानी र मूलको सुविधा छैन । रोजगारी जहाँ आफन्त र नाता गोताको हालीमुहाली छ । सुरक्षा जुन सर्वसाधारण पहुँच वाहिर छ । प्रतिभा जुन विदेशका गल्ली गल्ली भौतारिएको छ । देशका कर्मठ योद्धाहरु माटो खाएपनि पचाउने बेलाका युवायुवतीहरुको बैदेशिक यात्रालाई रोक्न उपाय नसुझाउने नाथे पनि सरकार हुन्छ ? वास्तवमा यहाँ सरकार नै छैन । आफ्ना नागरिकको दुःखमा मलम लगाउनुको सट्टा नुनचुक छर्छ, यस्तो पनि सरकार हुन्छ ? होइन भने साधुलाई सुली र चोरलाई चौतारो किन भइरहेको छ ? कतिन्जेल यो यर्थाथ नेपाली जनताले पर्खिएर हेरिरहनुपर्ने ? ए सरकार उत्तर देउ त ? तीनवटा सरकार छन् यहाँ, केन्द्र, प्रदेश र स्थानीय तहमा, तर केका लागि ? यस्तो लाग्छ जनताको नाममा जनतालाई अभिमन्यू चक्रव्यूहमा पार्टी पार्नका लागि जतिसुकै ठूलो राजनीतिक परिवर्तन भएपनि चाहिने भनेको इमान्दारिता नै हो । कानुनी राज नै हो । पारदर्शिता नै हो । दण्डहिनताको अन्त्य नै हो र नागरिक अधिकारको सुनिश्चितता नै हो । यति गरिएन भने प्रत्युत्पन्न मति भएकाहरु जनताको नजरबाट यिनै कर्म तीव्र भई सकेको छ । अझ ढिलो भयो भने माकुरालाई उसैका बच्चाले घरेजस्तै कहिलेपनि रोक्न सक्नेछैन । बेलैमा सुझबुझ आओस् । होइनभने मेरा मित्र ४५÷५० डिग्री सेन्टीग्रेडको भुग्रोमा बसी कतारदेखि आएकाका आक्रोस नेतामाथि पोखिएको दिन अर्काे इतिहाँस रोपिन बेर कत्ति हुने छैन् । सबैलाई चेतना भया ।
– नरेन्द्रराज सुवेदी